अभियुक्तलाई आममाफी दिलाउन जन्मदर्ता किर्ते बनाएको आरोपमा झापाका वडा सचिव तिवारी पक्राउ
झापा । सरकारी कागजात किर्ते गरेको आरोपमा झापा गौरादह नगरपालिका ७ नम्बर वडा सचिव ओमनाथ तिवारी पक्राउ परेका छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । वडा सचिव तिवारीले सरकारी छाप र दस्तखत किर्ते गरी स्थानीय निशा माझीको जन्मदर्ताको प्रतिलिपि बनाएको आरोपमा पक्राउ परेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक अरविन कुमार साहले बताए । तिवारीलाई मंगलबार बिहान साढे १० बजे कार्यालय परिसरबाटै पक्राउ गरी झापा जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वडा सचिव तिवारीले २०७६ मा कर्तव्य ज्यान मुद्दाकी अभियुक्त माझीलाई आममाफी दिलाउन जन्म मिति घटाएर जन्मदर्ताको प्रतिलिपि जारी गरेको आरोप लागेको छ । साबिकको जुरोपानी गाविस-९ हाल गौरादह नगरपालिका ७ की ११ वर्षीया बालिका अस्मिता राजवंशीको २०७१ जेठ ३० गते भएको हत्याको अभियोगमा अदालतबाट निशालाई दोषी ठहर गरी जेल सजाय तोकिएको थियो। जेल सजाय भोगिरहेकी माझीलाई घटनाको बखत नाबालिका भएको देखाउन गत २०७९ असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आममाफी दिलाउन वडा सचिव तिवारीले किर्ते कागजात बनाएका थिए। तिवारीले अभियुक्त माझीको उमेर ३ वर्ष घटाएर जन्मदर्ताको प्रतिलिपि जारी गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त माझीको सक्कली जन्म दर्तामा जन्म मिति २०५२ कार्तिक ४ गते उल्लेख भएकोमा २०७६ मा वडा सचिव तिवारीले उनको उमेर ३ वर्ष घटाएर जन्म मिति २०५५ साल उल्लेख गरी प्रतिलिपि जारी गरेको श्रोतको दाबी छ। अभियुक्त माझीको उमेर ३ वर्ष घटाउँदा हत्या घटनाको समय अभियुक्तको उमेर १६ वर्ष मात्र देखिने भई अभियुक्त माझी नाबालिका रहेको देखाइ २०७९ असोज ३ गते राष्ट्रपतिबाट उनले बाँकी जेल भुक्तानको सजाय आममाफी पाएकी थिइन्। घटनाअनुसार २०७१ जेठ ३० गते विद्यालयबाट घर फिर्किने क्रममा ११ बर्षिया बालिका अस्मिता राजवंशी बेलुका ४ बजेदेखि बेपत्ता भएको र २ दिनपछि दमक गौरीगञ्ज सडक खण्ड अन्तर्गतको जुरोपानीको सिसौ घारीमा घासले छोपेको अवस्थामा शव फेला परेको थियो।