प्रधानमन्त्री प्रचण्डद्वारा 'झापाको पत्रकारिता' पुस्तक विमोचन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको पत्रकारिता (आरम्भदेखि ०४०) पुस्तकको विमोचन गरेका छन् ।नेपाल पत्रकार महासंघ झापाद्वारा प्रकाशित उक्त पुस्तक प्रधानमन्त्री प्रचण्डले शुक्रबार काठमाडौँमा विमोचन गरेका हुन् ।
राष्ट्रिय सभागृहमा आयोजित नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशन उद्घाटन समारोहमा झापाको पत्रकारिता ९आरम्भदेखि ०४०० पुस्तकको विमोचन गरिएको हो ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पुस्तकमा झापाको पत्रकारिताको इतिहासको दस्तावेजीकरण, ०४० सम्मका अग्रज पत्रकारहरूको परिचय, महत्त्वपूर्ण अभिलेख, महासंघको हाल सम्मका कार्यसमितिको विवरण लगायतका विषय समेटिएको छ । कभर सहित २७६ पृष्ठको पुस्तकमा अग्रलेख,अन्तर्बोध खण्ड,संस्मरण लेख खण्ड र अभिलेख खण्डमा इतिहासका विविध विषय समेटिएको छ ।
प्रधानमन्त्री प्रचण्ड , सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा , नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गानाले शुभकामना व्यक्त गर्दै झापाको पत्रकारिता पुस्तक प्रकाशन गरेर महासंघ झापा शाखाको वर्तमान कार्यसमितिले रचनात्मक र उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका छन् ।
सात दशक पार गरेको झापाली पत्रकारिताको बारेमा बुझ्न , खोज अध्ययन अनुसन्धान गर्न चाहने जो सुकैका लागि पुस्तक उपयोगी हुने अध्यक्ष गिरीले बताए । पुस्तकको सम्पादक अग्रज पत्रकार गोपाल गिरी र राजबाबु शंकर रहेका छन् । अध्यक्ष गिरीले पुस्तकका सम्पादक, लेखक पत्रकार ,प्रकाशनमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।पुस्तकको प्रकाशन सहयोगी बिर्तामोड नगरपालिका रहेको छ ।