आयोजक आदर्शलाई हराउँदै मानेभन्ज्याङ फाइनलमा
बुुद्धशान्ति । अन्तिम १० मिनेट बाँकी रहँदा ९ खेलाडीमा सीमित भएको भारतको मानेभन्ज्याङ एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेन्स कपको फाइनलमा प्रवेश गरेको छ । आयोजक आदर्श युवा क्लबलाई २–० गोल अन्तरले हराउँदै मानेभन्ज्याङ फाइनल प्रवेश गरेको हो । जितसँगै मानेभन्ज्याङले कम्तीमा एक लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ ।
मानेभन्ज्याङको जितका लागि सुरज रसाइली र सौरभ तामाङले एक–एक गोल गरे । खेलको १६ औ मिनेटमा बिकी सिंहले दिएको पासमा सुरज रसाइलीले गोल गर्दे मानेभन्ज्याङलाई अग्रता दिलाएका थिए । सिंहको प्रहार पेनाल्टी एरियाबाट आदर्शका खेलाडीले क्लियर गर्न नसकेको मौकामा रसाइलीले दोस्रो बार च्याप्दै गोल गरेका थिए ।
मानेभन्ज्याङका लागि दोस्रो गोल खेलको ६१ औं मिनेटमा सम्भव भयो । कप्तान करण राईले दिएको पासलाई सौरभ तामाङले गोल गरे । आदर्शका खेलाडीले अफसाइडको अपिल गर्दै छोडेको बललाई रेफ्रीले गोल दिएका थिए ।
खेल अवधिभर बल पोजिसन राखेको आदर्शले स्कोर भने गर्न नसक्दा उपस्थित दर्शक निराश बनेका थिए । घरेलु दर्शकको उल्लेख्य समर्थन पाए पनि पाहुना टोलीको अगाडि आदर्श निरीह बनेको थियो । खेलको ५३ औ मिनेटमा आदर्शले पेनाल्टी पाएको थियो । आदर्शका सौरभ सुब्बालाई विपक्षी खेलाडीले पेनाल्टी एरियामा फल गरेपछि पेनाल्टी पाएको थियो । अनुभवी खेलाडी रोमन भुजेलले प्रहार गरेको पेनाल्टी मानेभन्ज्याङका गोलरक्षक लाक्पा तामाङले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ६६ औं मिनेटमा आदर्शका कप्तान पूजन थापाले गरेको कढा प्रहार पोस्टमा लागेर बाहिरियो ।
खेलको ११ औ मिनेटमा मानेभन्ज्याङका सुरज रसाइलीले दिएको क्रस पासमा करण राईले टच गरेको बल फ्रेममा पर्न सकेन । मानेभन्ज्याङले खेलमा अरू खतरा मुुभ बनाउन सकेको थिएन ।मानेभन्ज्याङ अन्तिम १० मिनेट बाँकी रहँदा ९ खेलाडीमा सीमित भएको थियो । खेलको ५६औ मिनेटमा मानेभन्ज्याङका उमङ्ग राई दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड खाँदै मैदान छोडेका थिए । त्यसैगरी ७० औ मिनेटमा प्रवेश रोय पनि दोहोरो पहेँलो कार्डका कारण मैदान छोडेका थिए । त्यसपछि खेलमा दबाबको सामना गरेको मानेभन्ज्याङले विपक्षी खेलाडीलाई स्कोर गर्न भने रोकेको थिए ।
खेलको प्लेयर अफ द म्याच मानेभन्ज्याङका गोलरक्षक लाक्पा तामाङ घोषित भए । उनलाई प्रमुख अतिथि बुद्धशान्ति ढुवानी मजदुर संघका अध्यक्ष भवेस राजवंशीले नगद तीन हजार रुपैयाँ पुरस्कार दिए । बिहीबारको अन्तिम सेमिफाइनल खेल बिर्तामोड युनाइटेड एफसी र बेलबारी एफसी मोरङबिच हुने छ ।
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा भएको आज भएको खेलमा बुद्धशान्तिका चार जना ज्येष्ठ मजदुरलाई सम्मान गरिएको थियो । ज्येष्ठ मजदुरहरू मदन राजवंशी, मस्लिम महमद, कालु राजवंशी र सुनिल राजवंशीलाई नगदसहित सम्मान गरिएको आयोजक क्लबका वरिष्ठ उपाध्यक्ष दीपक सुब्बा थेबेले जानकारी दिए ।