वैदेशिक रोजगारको नाममा ३ करोड भन्दा बढी ठगी गर्ने ६ जना पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा ६ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ धुनिवेशी नगरपालिका-४ घर भएका जीवा गौतम भन्ने रमेश बयालकोटी, कालिकोट ठेगाना भएका २७ वर्षीय दर्शन नेपाली, काठमाडौँ महानगरपालिका-४ चन्डोल बस्ने मञ्जु राना मगर, काभ्रेपलान्चोक पाँचखाल नगरपालिका-११ बस्ने २३ वर्षीय सहदेव रिजाल, दोलखा भीमेश्वर नगरपालिका-९ बस्ने ३२ वर्षीय रबिन तामाङ र ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका-४ बस्ने ३८ वर्षीया तीर्थ माया कार्की रहेका छन् ।
पक्राउमध्ये रमेश बयालकोटी र दर्शन नेपालीले बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोएसिया समेतका देशहरूमा पठाइदिन्छु भन्दै ४ सय २२ जनाबाट ३ करोड भन्दा बढी रकम ठगी गरेको खुल्न आएको छ । आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी भिसा प्लस प्रालि नामक कन्सलटेन्सी दर्ता गरेको, सामाजिक सञ्जालहरूमा विदेश जानको लागि अवसर रहेको भनी विज्ञापन पोस्ट गरी कन्सलटेन्सीमा बोलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । प्रहरीले महाराजगन्जस्थित उक्त कन्सलटेन्सी, जडीबुटीस्थित दर्शनको कोठा र ललितपुर एकान्तकुनास्थित रमेशको कोठाबाट ८४ राहदानी लगायत १ सय ८२ जनाको रेकर्ड फाइलहरू बरामद गरेको छ ।
यसैगरी पक्राउमध्ये मञ्जु रानाले सर्भिया र चेक रिपब्लिकको पठाइदिन्छु भन्दै २१ जना पीडितहरूबाट १ करोड ६० लाख रुपैयाँ ठगी गरेको, सहदेवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ ठगी गरेको, रबिनले अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ ठगी गरेको र तीर्थ मायाले चेक रिपब्लिकको पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ४० हजार ठगी गरेको खुल्न आएको छ ।
पक्राउ परेकामध्ये रमेश बयालकोटी र दर्शन नेपालीलाई आवश्यक कारबाईको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइने र अन्य व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारबाईको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।