मोरङमा नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ
मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ। मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राईले शिशु जन्माएर हत्या गरी फ्यालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार अस्मिताले छोरा जन्माएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको र हत्या गरेर ढुङ्गाको चेपमा फ्यालेको बस्नेतले बताए। बाँसघरीबाट १० मिटरजति पश्चिममा रहेको ढुङ्गाको चेपबाट सोमबार साँझ कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव बरामद भएको जानकारी उनले दिए।
शिशुको हत्या गरेर घर फर्किएकी अस्मिताको शरीरमा रगत देखेपछि शंका लागेर आफन्तले सोधपुछ गरेका थिए। सोधपुछ गर्ने क्रममा शिशुको हत्या गरेको खुलेपछि आफन्त र स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तत्कालै घटनास्थल पुगेको प्रहरीले शव बरामद गरेर अस्मितालाई पक्राउ गरेको थियो।