२०८३ असार १ गते , सोमबार
बिर्तामोडमै चितुवा निस्किएपछि...
झापाको बिर्तामोडमा चितुवा देखा परेको छ । आज साँझ करिब ७.४० बजेतिर बिर्तामोड- ६ स्थित गिरीबन्धु चिया बगानमा चितुवा देखा परेको स्थानीय धनपति सत्यालले बताए ।
उनले आफू पूर्वतिरबाट मोटरसाइकलमा आउँदै गर्दा राजमार्ग उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेको चितुवासँग झन्डै ठोक्किएको जानकारी दिए । उनका अनुसार सो चितुवा करिब तीन फुट अग्लो, पाँच फुट लम्बाइको रहेको छ ।
राजमार्ग दक्षिण चिया बगानभित्र गएको सो चितुवाबाट सतर्क गराउन आफूले प्रहरीलाई खबर गरिसकेको सत्यालले बताए । त्यसबारे बुझ्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।