सवारी दुर्घटनामा परी एकै दिन तीनजनाको मृत्यु
झापा । इलाम, ओखलढुङ्गा र उदयपुरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी एकै दिन तीन जनाको मृत्यु छ । मंगलबार दिउँसो इलामको माङसेबुङ गाउँपालिका-४ स्थित रवि दमक सडक खण्डमा को ३७ प ९२८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २५ फिट तल खसेको थियो ।
दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक भोजपुर खावाका ५७ वर्षीय महेशकुमार राईको उपचारको क्रममा आम्दा अस्पताल दमकमा मृत्यु भएको थियो । त्यस्तै
मंगलबार बेलुका ५ बजे ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका- ७ मा लु ३ त ९९७४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा ट्याक्टरमा सवार रहेका सिद्धिचरण नगरपालिका- ७ का २१ वर्षीय फुर्तेम्वा शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ट्याक्टर चालक मोलुङ गाउँपालिका- २ का २५ वर्षीय अभय सुनुवारको सामुदायिक मिसन अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी मंगलबार राती १० बजे उदयपुरको उदयपुरगढी- ७ स्थित मदन भण्डारी लोकमार्गमा ग १ ख ४७५३ नम्बरको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना परेको थियो । घाइते भएका ट्रक चालक चितवन राप्ती नगरपालिका- ६ का २८ वर्षीय सन्देश चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।