झापा गोल्डकपको उपाधि जित्ने दुवै टोलीको दाबी
छैटौँ झापा गोल्डकपको फाइनल खेल भोलि हुँदैछ । फाइनलमा चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ एफसीबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेलको पूर्व सन्ध्यामा आज बिर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमले उपाधि हात पार्ने दाबी गरेका छन् ।
प्रि–म्याच कन्फ्रेन्समा चर्च ब्वाइजका टिम क्याप्टेन दीप कार्की र कोच रोबिन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका टिम म्यानेजर सुशील अधिकारी र क्याप्टेन हरि कार्कीले पनि उपाधि आफ्नो टिमले जित्ने दाबी गरेका छन् । प्रि–म्याच कन्फ्रेन्सको सहजीकरण म्याच कमिस्नार केशवराज दाहालले गरेका थिए ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी छैटौँ झापा गोल्डकपमा पहिलो पटक सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले सहभागिता जनाएको हो । यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो । विभागीय टोली एपीएफले झापा गोल्डकपको उद्घाटन खेल खेलेको थियो । उद्घाटन खेलमा ए डिभिजनको संकटा यूथ क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै क्वाटरफाइनलमा एपीएफले स्थान सुरक्षित गरेको थियो । क्वाटरफाइनलमा पनि एपीएफले टाइब्रेकरको सहारा लिनु परेको थियो । सर्लाहीको बागमती यूथ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई सेमिफाइनलमा हराउँदै एपीएफले पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा पहिलो पटक सहभागी भएको चर्च ब्वाइजको यात्रा भने उत्साहजनक रह्यो । चर्च ब्वाइजले पहिलो खेलमै नेपाल पुलिस क्लबलाई २–० को हार चखायो । चर्च ब्वाइजले क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब एनआरटीमाथि १–० को नतिजा निकाल्यो । सेमिफाइनलमा आयोजक झापा ११ लाई टाइब्रेकरमा ४–३ ले हराउँदै चर्च ब्वाइजले फाइनलमा स्थान पक्का गरेको हो । प्रि–म्याज कन्फ्रेन्समा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरी, महासचिव गजेन्द्रबहादुर पौडेल, झापा फुटबल संघका अध्यक्ष भगीरथ आले (मामा) ले झापा गोल्डकपका विषयमा उठेका प्रश्नको जवाफ दिएका थिए । कार्यक्रमको सञ्चालन गोल्डकपका सचिवालय सदस्य केशव भट्टराईले गरेका थिए ।
झापा गोल्डकपको विजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेताले ७ लाख रुपैयाँ पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैयाँ विधागत पुरस्कारको रुपमा पाउने छन् ।