२०८१ मंसीर ३० गते , आईतबार

कांग्रेस महासमिति बैठकः थापाको पारित प्रतिवेदनले गठबन्धन संकटमा?

sajilo news
पत्रपत्रिका
२०८० फाल्गुन ११ गते , शुक्रबार
कांग्रेस महासमिति बैठकः थापाको पारित प्रतिवेदनले गठबन्धन संकटमा?

झापा ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । निर्वाचनअघि गठबन्धन नगर्ने र कांग्रेसका मतदाताले रूख चिह्नमा भोट हाल्न पाउने सुनिश्चितता गर्दै महामन्त्री थापाले महासमिति बैठकमा प्रतिवेदन पेस गरेका थिए ।

सुरुमा सभापति शेरबहादुर देउवाले महामन्त्री थापाको प्रतिवेदनमा भएको सो वाक्यांश हटाएर महासमिति बैठकमा पेस गर्न भनेका थिए । सो विषयले गठबन्धनमा उत्तारचढाव आउने र आफ्नो प्रधानमन्त्री बन्ने भविष्य नै खतरामा पर्नसक्ने संकेतका रूपमा बुझेका देउवाले त्यसपछि बूढानीलकण्ठमा पदाधिकारी बैठकसमेत राखेका थिए ।

महामन्त्री थापा सो प्रतिवेदन महासमिति बैठकमा पेस गर्ने, बरू त्यही समितिबाट पारित नभए आफूले मान्ने भन्दै टसमस नभएपछि अन्तिम समयमा सभापति देउवाले सहमति जनाएका थिए । त्यसपछि ८ फागुनमा महामन्त्री थापाले सांगठनिक प्रस्ताव पेस गरेका थिए । ७ फागुनदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकले चुनावी गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्ताव पारित गरेको हो ।

थापाले प्रस्तावमा भनेका छन्, ‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्नेछौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रूखमै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’ थापाको सो प्रस्ताव महासमितिको बैठकले पारित गरेको हो । यससँगै उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव पनि पारित भएका छन् । लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखापरीक्षण प्रतिवेदनसमेत सर्वसम्मतिले पारित भएको छ ।

कांग्रेस महासमिति बैठकले आगामी दिनमा गठबन्धन नगर्ने प्रस्ताव पारित गरेसँगै सत्ता गठबन्धनको सत्ता साझेदारी दल नेकपा (माओवादी) केन्द्रलाई उकुसमुकुस भएको छ । माओवादीका नेताहरूले सामाजिक सञ्जालमा लेखेको स्टाटसले पनि कांगे्रसले पारित गरेको सो प्रस्तावका कारण आक्रोश पोख्नेक्रम जारी छ । महामन्त्री थापाको प्रस्तावमा छलफल सुरु भएलगत्तै प्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट माओवादी युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बुधबार फेसबुकमा स्टाटस लेख्दै कांग्रेसलाई चेतावनी दिएका थिए । ‘गोदावरीतिर चुमुकचुमुक गरिरहेका साथीहरूले बेलैमा बुझून्, हाम्रो काँध चढेर तिम्रो कद उँचो भएको हो, छाडेको दिन पुड्को हुनुपर्छ,’ सापकोटाले लेखेका थिए । त्यसपछि माओवादी अध्यक्षनिकट नेताहरूले एकपछि अर्को गर्दै कांग्रेसविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।आजको राजधानी दैनिकमा खबर छ । 

सम्बन्धित समाचार