पोखराको लेकसाइड बिर्साउने इलामको श्रीअन्तु

श्रीअन्तु । झिलिमिली बत्ती । मन्द तर, फरक–फरक सङ्गीत, पोखरीबाट फर्किएर आएका प्रकाशका रंगीबिरंगी किरण, बारविक्युबाट आएका सेकुवाका सुगन्धहरू साँझमा पुग्दा गरिने यो महसुस पोखराको लेकसाइडको नभई इलामको श्रीअन्तुको हो ।
कामको बोझ र थकित शरीरलाई विश्राम दिने एकदिनको लागि हजारौँको चौतारी बनेको छ, इलाम सूर्योदय नगरको श्रीअन्तु । तराईको तातोलाई छल्न मात्र हैन, सूर्योदयको दृश्य अवलोकन गर्दै कञ्चनजङ्घा हिमशृङ्खलामा प्रकाशका लालीहरूको लुकामारीको आनन्दको लागि श्रीअन्तु नपुग्ने कमै होलान् ।स्थानीय सरकारले जनप्रतिनिधि पाएसँगै पूर्व इलामको सूर्योदय नगरलाई प्रदेश सरकारले समेत पर्यटकीय नगरिको रूपमा सूचिकृत गरेको छ । नगरको मुख्य पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तुलाई थप व्यवस्थित गरी अन्य ठाउँमा समेत पर्यटकीय सम्भावनाको आधारमा विकास गरिएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले बताए ।
कन्याम, श्रीअन्तु, सिमपानी,सुन्दरपानी, स्वामी, पार्क तीन तले झरना, बौद्ध पार्क, गुफा पातललाई नयाँ पर्यटकीय स्थानको रुपमा विकास गरिएको नगर प्रमुख राईले बताए । मङ्गल मन्दिर चित्रे गुम्बा उर्गेन छोलिङ गुम्बा, भारत नेपाल सिमानामा रहेको मेची नदीको उद्गम स्थल लाली खर्क, वौद्धधाममा रहेको ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको बुद्ध पार्कले धार्मिक पर्यटकलाई आकर्षण गर्दै नयाँ गन्तव्यको रूपमा अगाडि सारिएको सूर्योदय नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पेमा उँगेन लामा (भाइचुन)ले बताए ।
सूर्योदय नगरपालिकाले चिया पर्यटनको अवधारणा अघि बढाएको नगरपालिकाका उपप्रमुख दुर्गा बरालले बताए । छिमेकी पालिकाहरू रोङ, माइजोगमाई, सन्दकपुर र इलाम नगरपालिकासँग समन्वय गरी इलाम जिल्लालाई नै पर्यटकीय प्याकेजको रूपमा अगाडि बढाउने काम सुरु गरिएको उपप्रमुख बरालले बताए । हरियो गलैंचाझै देखिने कन्याम चियाबारी घुम्ने र भोलिपल्ट झुल्के घाम हेर्ने अन्तु आएर बस्ने पर्यटकको सङ्ख्या धेरै भएको वडा नम्बर ४ का वडा अध्यक्ष सरण राईले बताए । नीलो आकाश र थोरै देखिने सेतो हिमाल पृष्ठभूमिमा राखेर आफूसँगै हरियो चियाबारी तस्बिरमा अटाउन पर्यटक लालहित हुन्छन् । सूर्योदयको दृश्यावलोकनसँगै अन्तुपोखरी, हरियाली चियाबारी, चिया बगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय श्रोत साधनको प्रयोग गरी थुम्का थुम्कामा बनाइएका घर, विभिन्न जातजातिहरूको कला–संस्कृतिको आनन्द लिन आन्तरिक र बाह्य पर्यटकको पहिले रोजाई श्रीअन्तु नै भएको वडा अध्यक्ष राईले बताए ।
श्रीअन्तुका रिसोर्ट, होटल, कटेज र होमस्टेहरू पर्यटकले सधैँ भरिभराउ हुने गरेको श्रीअन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिए। उनले भने,’अग्रिम बुकिङ नगरे श्रीअन्तु बस्ने ठाउँ नै पाउन मुस्किल हुन्छ त्यसमा पनि शुक्रबार र शनिबार त भो कुरा नगरौँ । ७० वटा होटल तथा रिसोर्टहरु ४० वटा होमस्टेहरू रहेको अध्यक्ष घिमिरेले बताए । ‘यति बेला दैनिक तीनदेखि चार हजार जना पर्यटक श्रीअन्तु बस्ने गरेको र तीमध्ये करिब ७५ प्रतिशत पर्यटक सूर्योदयको दृश्यावलोकन गर्न अन्तुडाँडासम्म पुग्ने गरेको तथ्याकं रहेको घिमिरेले बताए ।
पछिल्लो समय पशुपति नगर नाकाबाट समेत भारतीय गाडी आउन पाउने भएपछि भारतीय पर्यटनको समेत उलेख्य रूपमा सूर्योदयका विभिन्न ठाउँमा आउनेको क्रम बढेको प्रमुख राईले बताए । कोसी प्रदेशको झापा, मोरङ, सुनसरी र भारतको पश्चिम बङ्गालका विभिन्न क्षेत्रबाट दैनिक पर्यटकहरू आउनेको सूर्योदय नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।