वीरता जेसीजमा लफडा, अधिवेशन स्थगित
वीरता जेसीजको अधिवेशन स्थगित भएको छ । अध्यक्ष घनश्याम चौधरीले अधिवेशन स्थगित भएको जानकारी दिएका छन् । बन्दशत्रका क्रममा विवाद बढेपछि तत्काललाई अधिवेशन स्थगित गरिएको हो ।
वीरता जेसीजको ४३ औ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन विवादका कारण रोकिएको छ । केही जेसीहरुले बन्दशत्रका क्रममा टेबल बजारेपछि विवाद सतहमा आएको हो । त्यसपछि माहौल साम्य बनाउनका लागि अधिवेशन स्थगित गरिएको बताइएको छ ।
१९ जना सदस्यहरूको विषयलाई लिएर अधिवेशनमा विवाद भएको बुझिएको छ । सन् २०२२ मा बनाइएका सदस्यहरूलाई सोही कार्यकालले अनुमोदन नगर्दा समस्या आएको जेसीहरुको भनाई छ । तत्कालीन अध्यक्ष प्रवीण खड्काको कार्यकालमा बनाइएका सदस्यहरूलाई वर्तमान कार्यसमितिले अनुमोदन गरेर मताधिकार दिनुपर्ने मुद्दाले अधिवेशन नै प्रभावित बनेको हो ।
अध्यक्ष घनश्याम चौधरीले १९ जना सदस्यलाई अहिले अनुमोदन गरेर २०२५ मा मात्रै मताधिकार दिन सकिने अडान राखिरहेका छन् । तर, १९ जना सदस्यहरूलाई यही वर्ष अनुमोदन गरेर मताधिकार मागेपछि लफडा उत्कर्षमा पुगेको छ ।
साधारण सभाले अनुमोदनसहित मताधिकार दिनुपर्ने दबाब बढेपछि अध्यक्ष चौधरीले अस्वीकार गरेका छन् । उनले अनुमोदन गरे पनि मताधिकार सम्भव नभएको प्रतिक्रिया दिए ।
क्षमता विकासका लागि स्थापना भएको जेसीजमा विधि मान्ने सदस्यहरूको अभाव भइरहेको जेसीजमा क्रियाशील सदस्यहरूको भनाई छ । बाहिरबाट हेर्दा राजनीतिक हस्तक्षेप र भित्र सदस्यहरूको बेमेल बढ्दै गइरहेको धेरैको अनुमान छ । वीरता जेसीजको वर्ष २०२४ का लागि अध्यक्षमा युवराज कुँवर, दिवाकर प्रसाईँ र विकास बस्नेतको चर्चामा छन् ।
१५४ सदस्य रहेको वीरता जेसीजमा बुधवार मध्यान्न सुरु भएको बन्दशत्रको सुरुवातमै लफडा भएको थियो । वीरता जेसीज र वीरता लेडी जेसीजमा पछिल्लो समय बढ्दै गएको राजनीतिकरणका कारण बर्सेनि अधिवेशन विवादित बन्न थालेको छ ।