बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा सापकोटाले उम्मेदवारी दिने
बिर्तामोड उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ । उम्मेदवार बन्न चाहनेहरुले चर्चा सुरु गरेका छन् । व्यवसायी लक्ष्मीप्रसाद सापकोटाले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्ने योजना रहेको बताएका छन् ।
बिर्तामोडमा १३ वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आउनु भएका सापकोटा आविष्कार बिजनेस (एग्रोभेटिनरी) का सञ्चालक हुन । व्यवसायी सापकोटाले आफूले कुन पदमा उम्मेदवारी दिने भन्ने टुङ्गो नलागे पनि अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायी प्यानलबाट उम्मेदवार बन्ने योजना रहेको बताए ।
सापकोटा २०६० सालमा उद्योग वाणिज्य संघ पशुपतिनगर इलाममा उपाध्यक्ष थिए। हाल उनी उद्योग व्यवसायी महासंघ झापाको कोषाध्यक्ष, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको उपाध्यक्ष, नेपाल पशुपन्छी व्यवसायी मेची शाखाको सह सचिव लगायत विभिन्न सामाजिक संघ संस्थामा आबद्ध छन् ।
हालका महासचिव अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायी प्यानलमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनता पार्टीमा आबद्ध रहेका व्यवसायीहरू एक भएर निर्वाचनमा जाने भद्र सहमति भइसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग भने सहकार्यको लागि छलफल भइरहेको जनाइएको छ ।