पूर्व-पश्चिम राजमार्ग : झापामा पाँच हजार रुख काटिँदै
पूर्व-पश्चिम राजमार्ग निर्माण गर्दा झापामा करिब पाँच हजार रुख काटिने भएका छन । झापाको काँकडभिट्टादेखि सितापुरीसम्मको पूर्वी खण्ड र सितापुरीदेखि मावा खोलासम्मको पश्चिम खण्ड गरी झापामा ४ हजार ९ सय ५७ वटा रुख काटिने डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषि पराजुलीले जानकारी दिए ।
पूर्वी खण्डमा ४ हजार ७ सय ३० वटा रुख काटिनेछ जसमा ९२ हजार ९ सय ९५ दशमलव १६ क्युबिक फिट काठ र ९ सय ५४ दशमलव ६२ चट्टा दाउरा निस्कने समितिले मुल्याकंन गरेको वन अधिकृत पराजुलीले बताए । त्यस्तै सितापुरीदेखि मावा खोलासम्मको पश्चिम खण्डमा २२७ वटा रुख काटिनेछ । जसमा एक सय ९० दशमलव ११ क्युबिक फिट काठ र ३ दशमलव २७ चट्टा दाउरा निस्किने दाउरा निस्कने वन अधिकृत पराजुलीले बताए । सडक निर्माण गर्दा झापामा जम्मा ९३ हजार एक ८५ दशमलव २७ क्युबिक फिट काठ निस्कने र ९ सय ५७ दशमलव ८९ चट्टा दाउरा निस्कने मुल्याकन भएको पराजुलीले बताए ।
वन अधिकृत पराजुलीका अनुसार २० फिट लम्बाई, ५ फिट चौडाइ र ५ फिट उचाइमा रहेको दाउरा एक चट्टा हुन्छ । शहरी क्षेत्रमा ५० मिटर भित्रका र अन्य क्षेत्रमा ३२ मिटर भित्रका रुख बिरुवा सडक निर्माणका बेला हटाउनु पर्ने भएकाले सोही अनुसार हटाउनु पर्ने रुख बिरुवाहरूको लगत सङ्कलन गरी मुल्याकंन गरिएको पराजुलीले बताए । झापाको पूर्वी खण्ड काँकडभिट्टादेखि सितापुरीसम्मको ४५ किलोमिटर सडकमा पर्ने रुख बिरुवाको लगत सङ्कलन गरी सरकारी रुख काट्न सिफारिस गर्ने समितिको बैठकले निर्णय गरी वन विभागमा पठाइसकिएको र सितापुरीदेखि माव खोलासम्मको पश्चिम खण्डको लगत सङ्कलन भएर कार्यालयमा आइपुगेकाले केही दिनमै समितिको बैठक बसेर निर्णय गरी विभागमा पठाइने वन अधिकृत पराजुलीले बताए ।
सरकारी रुख हटाउनका लागि डिभिजन वन कार्यालयका प्रमुख अध्यक्ष रहने गरी जिल्ला प्रशासन कार्यालयका अधिकृत, मालपोत कार्यालयका अधिकृत, नापी कार्यालयका अधिकृत र जिल्ला समन्वय समितिको कार्यालयका अधिकृत सदस्य तथा सम्बन्धित आयोजना प्रमुख सदस्य सचिव रहने गरी रुख कटान सिफारिस समिति रहेको र त्यसले निर्णय गरी वन विभागमा पठाउने र विभागबाट अनुमति आए पछि सडक डिभिजन कार्यालयले रुख कटान गर्ने कानुनी व्यवस्था रहेको वन अधिकृत पराजुलीले बताए । त्यसरी हटाइएका रुख सडक डिभिजन कार्यालयले सम्बन्धित वन डिभिजन कार्यालयलाई बुझाउनु पर्नेछ ।