२०८३ बैशाख ३० गते , बुधबार

राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको नेतृत्व लिन हानथाप, चार जनाले दिए अध्यक्षमा उम्मेदवारी

sajilo news
पार्थ मण्डल
२०८० माघ ६ गते , शनिबार
राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको नेतृत्व लिन हानथाप, चार जनाले दिए अध्यक्षमा उम्मेदवारी

भद्रपुर । आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका छन् । भद्रपुर- ६ स्थित भातियाबारीमा प्रतिष्ठानले संग्राहलय निर्माण गर्न लागेपछि प्रतिष्ठानको नेतृत्व लिन आफ्नै समुदायभित्र अहिले हानथाप सुरु भएको छ । प्रतिष्ठानको नेतृत्व कब्जा लिन पार्टीगत राजनीतिकरण हाबी भएको छ । 

प्रतिष्ठानको प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने पहिलो प्रयास असफल भएपछि प्रतिष्ठानको अध्यक्ष पदमा वर्तमान अध्यक्ष तुलाराम सिंह राजवंशी, ४ नम्बर वडा अध्यक्ष हंशधर राजवंशी, राजवंशी समाज विकास समिति झापाका अध्यक्ष उत्तम राजवंशी र राजवंशी समाज विकास समिति झापाका पूर्व अध्यक्ष पुकारचन्द्र राजवंशीले उम्मेदवारी दिएका छन् । शनिबार भद्रपुर मारवाडी संघको भवनमा निर्वाचन प्रक्रिया सुरु भए लगतै उनीहरूले उम्मेदवारी दिएका हुन् । 

त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुधीर राजवंशी र सन्तकुमार राजवंशीले उम्मेदवारी दिएका छन् । सचिवमा विवेक राजवंशी र नन्दलाल राजवंशीले उम्मेदवारी दिएका छन् । सहसचिवमा सञ्जीवकुमार सिंह राजवंशी, वसन्त राजवंशी र विजयकुमार राजवंशीले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा रेश्माकुमार राजवंशी र कल्पना राजवंशीले उम्मेदवारी दिएकी छिन् । त्यसैगरी तीन खुला सदस्य पदमा विष्णु राजवंशी, सुटलाल राजवंशी, लालबहादुर राजवंशी, धिरेन्द्र राजवंशी, रतिया राजवंशी, अजय राजवंशी, डिल्लीराम राजवंशी, मलिन राजवंशी र अभय राजवंशीले उम्मेदवारी दिएका छन् । तीन महिला सदस्यमा अनिता राजवंशी, अञ्जना राजवंशी, दीपिका राजवंशी र पञ्चमी राजवंशीले उम्मेदवारी दिएकी छिन् । निर्वाचन समितिले प्रकाशन गरेको नामावलीमा महिला उपाध्यक्षमा ललिता राजवंशी र सह-कोषाध्यक्षमा रसत राजवंशीको एकलो उम्मेदवारी परेको छ । उनीहरू सर्वसम्मत निर्वाचित भएपनि आधिकारिक घोषणा गरिएको छैन । 

आजै निर्वाचन प्रक्रियाबाट नयाँ कार्य समितिका पदाधिकारी टुङ्गो लगाउने तयारी रहेको बेला अध्यक्षका उम्मेदवार हंशधर राजवंशी अचानक बिरामी परेर बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना भएपछि चुनाव तत्काललाई स्थगित गरिएको जनाइएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि निर्वाचन समितिबाट दुई दिनको समय लिएको प्रतिष्ठानका सचिव नन्दलाल राजवंशीले जानकारी दिए । दुई दिनभित्र सर्वसम्मत नेतृत्व चयन नभएको खण्डमा पुनः निर्वाचन प्रक्रियामा जाने उनले बताए ।  

सम्बन्धित समाचार