झापामा चालकको लापसे र मापसेसहितको आँखा जाँच
सुरक्षित सडकको लागि सवारी चालकको लागु औषध-मादक पदार्थ प्रयोग तथा आँखा जाँच कार्यक्रमको शुभारम्भ गरिएको छ । शुक्रवार काँकडभिट्टामा आयोजित कार्यक्रममा १० जना चालकको लापसे चेक गरिएको थियो । त्यसमध्ये ६ जनामा प्रयोग गरेको भेटिएको झापा प्रहरीले जनाएको छ ।
झापा प्रहरीका अनुसार ६ जनालाई नियन्त्रणमा लिई ईप्रका काँकडभिट्टामा राखिएको छ । यस्तै, ७५ जनाको आँखा जाँच सम्पन्न गरिएको छ । ५६ पुरुष र १९ जना महिलाको आँखा जाँच गरिएको बताइएको छ । झापा मेचीनगर –६ बसपार्कमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा सुरक्षित सडकको लागि सवारी चालकको लागु औषध-मादक पदार्थ प्रयोग तथा आँखा जाँचको सुरु गरिएको थियो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईको प्रमुख आतिथ्य, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय कोशी प्रदेश इटहरी समन्वय र काँकडभिट्टा आई केयर सेन्टरको सहयोगमा नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल, जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारती, विभिन्न संघ संस्थाका पदाधिकारीको सहभागितामा लागु औषध- मादक पदार्थ प्रयोग तथा आँखा जाँच गरिएको थियो ।