२०८३ असार १० गते , बुधबार

बिर्तामोड नगरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

sajilo news
झापा
२०८० माघ ६ गते , शनिबार
बिर्तामोड नगरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडा नम्बर १ को सभा हलमा आज वडा नम्बर १,२ र ५ को आर्थिक वर्ष २०८०।८१ को प्रथम चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईँ, उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईँ र नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले सहभागीहरूका प्रश्नको जवाफ दिए । सहभागीहरूले बिमाको औषधी अभाव, बजारमा बिना दर्ताको व्यवसाय सञ्चालन, इन्टरनेटका अव्यवस्थित तार, सडक निर्माण, मर्मत सम्भार, फोहोर व्यवस्थापन, पार्किङको समस्या, लागु औषध दुर्व्यसनी, निजी तथा सरकारी विद्यालय लगायत विभिन्न टोल विकास संस्थाका विषयमा प्रश्न गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले फोहोर व्यवस्थापनका लागि सबैले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरिन् । उनले स्रोतमै वर्गीकरण गर्न सुरु नगरेसम्म फोहोरको समस्या समाधान नहुने धारणा राखिन । नगरपालिकालाई राम्रो र सुन्दर बनाउन जनप्रतिनिधि मात्रै नभएर सबै जना लाग्ने हो भने नमुना नगरपालिकाको रुपमा विकास गर्न सकिने बताइन् ।

नगर प्रमुख प्रसाईँले २०७४ सालको निर्वाचन पछि नगरको शिक्षा क्षेत्रमा धेरै परिवर्तन आएको बताइन् । निजी विद्यालयको तुलनामा पछि परेको सरकारी विद्यालयमा अहिले गर्वका साथ पढ्न जान, पठाउन सकिने अवस्था सृजना भएको धारणा राखिन् ।  उनले आफूले समिति गठन गरेर नगरका १८ वटा सामुदायिक, ५८ वटा संस्थागत र २ वटा धार्मिक विद्यालयको अनुगमन गरी आवश्यकताको पहिचान र समाधान गर्दै यो स्थानसम्म आइपुगेको बताइन । नगर प्रमुख प्रसाईँले बिर्तामोडमा सौहार्द रुपमा विकासका कामहरू भइरहेको बताइन । नगरको बजेट अनुसार सही सदुपयोग गरेर कामहरू भइरहेको उनले बताइन् ।

यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले सरकारले गाउँपालिका र नगरपालिकामा जनसङ्ख्याको हिसाबमा औषधी वितरण नगरी एउटै दरमा औषधी पठाउने भएका कारण बिर्तामोडमा निःशुल्क औषधीको अभाव हुने गरेको बताए । उनले अभाव भएको औषधी नगरपालिकाले खरिद गर्न पाउने अधिकार समेत नभएकोले कानुनी समस्या रहेको जानकारी दिए ।

उपप्रमुख सङ्ग्रौलाले बिर्तामोडमा १ लाख ६५ हजार भन्दा बढीको बसोबास रहेको बताए । उपप्रमुख सङ्ग्रौलाले सार्वजनिक स्थानमा कुकुरलाई दिशा पिसाब गराउनेलाई ५ हजार भन्दा बढी जरिवाना सहित कारबाही हुने र यसका लागि टोल विकास समितिले ध्यान दिनु पर्ने बताए । यस्तै नगरमा दर्ता, नवीकरण नगरीकन सञ्चालन गरेका व्यवसायीलाई कानुनी कारबाही गरिने भन्दै सबैलाई करको दायरामा आउन सुझाव दिए । उनले बजारमा अखाद्य वस्तु बिक्री वितरण भइरहेको सूचनाका आधारमा अनुगमन तथा कार्वाहि समेत भइरहेको नगर उप प्रमुख सङ्ग्रौलाले जानकारी दिए ।

वडाको सडक, विद्युत् पोल, अव्यवस्थित इन्टरनेटका तारलगायतका विषयमा उठेका प्रश्नमा वडाअध्यक्ष अग्निप्रसाद पाण्डे र रोहित प्रसाईँले जवाफ दिएका थिए । यस्तै कक्षाकोठा क्षेत्रमा उठेको प्रश्नहरूको जबाफ निमित्त प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले दिए  । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण झापा युनेस्को संघ नेपालका विजय तिम्सिनाले गर्नु गरेका थिए । ५० जना भन्दा बढीको सहभागिता रहेको यस कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार