२०८३ बैशाख १५ गते , मंगलबार

कनकाईमा पालिका स्तरीय फुटबल प्रतियोगिता हुने

sajilo news
झापा
२०८० माघ ४ गते , विहीबार
कनकाईमा पालिका स्तरीय फुटबल प्रतियोगिता हुने

झापाको सुरुङ्गामा जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । ‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मूल नाराका साथ अघि बढेको कनकाई खेलकुद प्रतिष्ठानले खेलकुदका विभिन्न गतिविधिहरू सहित सामाजिक क्षेत्रमा समेत सक्रियता देखाउँदै आएको छ । यसै क्रममा प्रतिष्ठानले अघिल्ला वर्षहरू झैँ आफ्नो वार्षिक क्यालेन्डरमा भएको कार्यक्रमलाई यस वर्ष पनि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

सोही अनुरूप कनकाई माविको खेल मैदानमा यही माघ ६ गतेदेखि वार्षिक कार्यक्रमका रुपमा रहेको पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । झापाका १० वटा पालिकाको सहभागितामा सञ्चालन हुने प्रतियोगिता १७ गते समापन हुने खेल संयोजक रमेशचन्द्र मैनालीले जानकारी दिए । प्रतिष्ठानका तर्फबाट झापाका १५ वटै पालिकालाई प्रतियोगितामा सहभागीताका लागी अनुरोध गरिएको भए पनि केही पालिकाको आफ्नै समस्याका कारण सहभागी हुन नसक्ने जानकारी आएपछि यस पटक १० वटा पालिकाको बिचमा प्रतियोगिता सञ्चालन गर्न लागिएको खेल संयोजक मैनाली बताउँछन् ।

माघ ६ गते शनिवार दिउँसोको ठिक १ः३० बजेदेखि औपचारिक कार्यक्रम साथै २ बजेदेखि खेल सञ्चालन गर्ने गरी समयको व्यवस्थापन गरिएको बताइएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलबाट समुद्घाटन हुने प्रतियोगिताको उद्घाटन खेल कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिका बिच हुने आयोजक समितिले जनाएको छ ।   

प्रतियोगिता सम्पन्न गर्न आर्थिक स्रोत व्यवस्थापनमा कठिनाइ रहेको भए पनि प्रतिष्ठानले प्रथम पुरस्कारका रुपमा १ लाख ११ हजार साथै दोस्रो पुरस्कार ७५ हजार नगद, प्रमाण पत्र र ट्रफीको व्यवस्थापन गरेको प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिए । प्रत्येक दिनको मेन अफ द म्याचको पुरस्कार नगद २ हजार रहेको छ भने खेल अवधिभरका उत्कृष्ट गोल किपर, सर्वाधिक गोल कर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मीड फिल्डर लगायतको पुरस्कार जनही नगद  २ हजार १ सय साथै मेन अफ दि सिरिज ५ हजारको नगद पुरस्कार व्यवस्थापन गरेको प्रतिष्ठानका अध्यक्ष थपलियाले जानकारी दिए ।

मुख्य आर्थिक सहयोग कनकाई नगरपालिकाको रहने प्रतियोगितामा खेल सम्पन्न गर्न ६ लाख ४९ हजार ४ सय खर्चको अनुमान गरिएको  आयोजक समितिले जनाएको छ । प्रतियोगितामा खेल प्रेमी व्यक्तित्वहरू, उद्योगी व्यवसायी, विभिन्न सङ्घसंस्था साथै प्रतिष्ठानका सदस्यहरूबाट समेत आर्थिक सहयोग प्राप्त हुने विश्वास गरिएको छ ।       

झापा जिल्लाकै उच्च स्तरको प्रतियोगिताको रुपमा कनकाई कपलाई थप व्यवस्थित गर्दै यसलाई निरन्तरता दिँदै अघि बढ्ने योजना रहेको आयोजक समितिले जनाएको छ । प्रतिष्ठानले जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता, कनकाई सन्थाल मेला, कनकाई कप, वडास्तरीय खेलकुदका गतिविधिहरुः फुटबल,क्रिकेट,भलिबल लगायतका प्रतियोगिताहरू सञ्चालन गर्दै आइरहेको बताइएको छ । 

सम्बन्धित समाचार