हल्दिबारीका ४० जना विपन्नलाई कम्बल वितरण
झापा हल्दिबारीका ४० जना विपन्नलाई कम्बल वितरण गरिएको छ । हल्दिबारी–४ स्थित सनातन धर्म सेवा समिति किरातेश्वर शिव मन्दिर एवं किरातेश्वर गुरुकुलममा सुरु भएको गरुड पुराणको अवसरमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो ।
लायन्स क्लब अफ बिर्तामोड लेडी र हल्दिवारी ४ का पूर्व वडा अध्यक्ष होमप्रसाद चुडालद्वारा सौजन्य गरिएको कम्बल कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन ,उपाध्यक्ष लक्ष्मीदेवी मैनाली , लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओली , लायन्स क्लबका डिस्ट्रिक्ट चिफ नीरज ओली, नेपाली काँग्रेस हल्दिवारीका सभापति गंगा प्रसाईँलगायतले वितरण गरेका थिए । जाडो बढेसँगै विपन्न परिवारलाई लक्षित गरी लायन्स क्लब अफ बिर्तामोड लेडीसंगको समन्वयमा कम्बल वितरण गरिएको पूर्व वडाध्यक्ष चुडालले बताए ।
पुराण आयोजक समितिका अध्यक्ष बलराम गिरीको अध्यक्षता एवं हल्दिबारी गाउँपालिका अध्यक्ष लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा २६ औं वार्षिक उत्सव एवं १७ औं गरुड पुराण मंगलवारबाट सुरु भएको छ ।
उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि लिङ्देन, गाउँपालिका उपाध्यक्ष मैनाली , काँग्रेस गाउँ सभापति प्रसाईँ , समाजसेवी नितेश शाहलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य पण्डित सोमनाथ सुवेदीले गरेको कार्यक्रमको सञ्चालन देवीका अधिकारीले गरेकी थिइन् ।
गुरुकुल सञ्चालन गर्नका लागि पुराणको आयोजना गरिएको जनाइएको छ । पुराणमा कथा वाचक भारत दार्जिलिङका ख्यातिप्राप्त पण्डित दीप किशोर भट्टराई साथै सहवाचकमा हल्दिवारी ४ का युवा पण्डित सुजन सुवेदी रहेका छन् ।