२०८३ बैशाख १३ गते , आईतबार

वाणिज्य बैंकको खाताबाट सेवाग्राहीको ३ लाख ४३ हजार नगद गायब भएपछि...

sajilo news
झापा
२०८० पौष २९ गते , आईतबार
वाणिज्य बैंकको खाताबाट सेवाग्राहीको ३ लाख ४३ हजार नगद गायब भएपछि...

राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक सेवाग्राहीको ३ लाख ४३ हजार नगद गायब भएको छ ।  झापाको शिवसताक्षी नगरपालिका– ६ स्थित राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाको खाताबाट स्थानीय कृष्णकुमार राजवंशीकी श्रीमती आशाकुमारी राजवंशीको रकम गायब भएको हो । 
उनको महालक्ष्मी सेभिङ खाता नम्बर २१७०१०००००२६३००४ बाट सो रकम गायब भएको उनका श्रीमान् कृष्णकुमारले इलाका प्रहरी कार्यालय दमकमा आइतबार लिखित उजुरी दिएका छन् । १५ हजार र २० हजारका दरले पटक पटक गरेर आफ्नो श्रीमतीको खाताबाट सो रकम हिनामिना भएको कृष्णकुमारले अन्नपूर्णलाई बताए । 
बैंक कर्मचारीकै मिलेमतोमा खाताबाट रकम गायब पारिएको उनले आरोप समेत लगाएका छन् । एटिएम कार्डबाट सो रकम निकालेको देखिन्छ । ‘जबकि श्रीमतीले एटिएम कार्ड नै बनाएकी छैन,’ उनले भने ।  बैक खाताबाट हराएको रकमका बारेमा गैर जिम्मेवार जवाफ दिएको बैकले बैक इस्टेटमेन्ट दिन समेत नमानेको स्थानीय चन्द्रमणि पौडेलले बताए । स्थानीयहरूको दबाबपछि मात्र बैक इस्टेटमेन्ट दिएको उनले बताए । अर्को कुनै व्यक्तिले खाताबाट सो रकम निकालेको भन्दै बैकले घटना ढाकछोप गर्नलाई १ लाख ३ हजार, १ लाख ४० हजार र १ लाख गरी तीन पटकमा सो रकम आशाकुमारीको खातामा जम्मा गरिदिएको उनको भनाई छ । उजुरीकर्ताले किन र कसले रकम निकालेको भन्दै घटनाको सत्य तथ्य छानबिनका लागि प्रहरीसँगै राष्ट्रिय वाणिज्य बैकको केन्द्रीय कार्यालय काठमाडौँमा समेत आजै उजुरी पठाइसकेको छ । 

सम्बन्धित समाचार