२०८३ असार १० गते , बुधबार

झापा कारागारका बन्दीलाई पुस्तक उपहार

sajilo news
झापा
२०८० पौष २९ गते , आईतबार
झापा कारागारका बन्दीलाई पुस्तक उपहार

भद्रपुर । जिल्ला कारागार झापामा रहेका कैदीका लागि पुस्तक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको १८ स्थापना दिवसको अवसरमा शनिवार विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीहरूको पठन संस्कृतिको विकासका लागि पुस्तक हस्तान्तरण गरिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाले जनाएको छ ।

जिल्लाका विभिन्न पुस्तक तथा स्टेसनरी व्यवसायीबाट सङ्कलित १ लाख ५२ हजार ६३६ बराबरको पुस्तक, स्टेसनरी र खेल सामाग्री कैदीलाई प्रदान गरिएको महासङ्घ झापाले जनाएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाका पदाधिकारीले कारागार भित्रै एक कार्यक्रमको आयोजना गरी कैदीलाई पुस्तक प्रदान गरेको हुन् । 

व्यवसायीले प्रदान गरेको पुस्तक तथा स्टेसनरी कारागारका आन्तरिक प्रशासन प्रमुख तथा बन्दी विकास पुस्तकालयका अध्यक्ष मनोज लावती, उपाध्यक्ष भरत सार्की, सचिव रमेश पोख्रेल र अविरमण्डु माझिले ग्रहण गरेका थिए ।

व्यवसायीले विभिन्न विधाका पुस्तक प्रदान गरेको नेपाल पुस्तक तथा स्टेसनर व्यवसायी महासङ्घ झापाका उपाध्यक्ष खगेन्द्र गौतमले बताए । उनका अनुसार कथा, कविता, उपन्यास, यात्रा संस्मरण, नाटक, फुटबल, भलिबल लगायत जीवन उपयोगी पुस्तक प्रदान गरिएको हो ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंङघका झापा अध्यक्ष विनोद सापकोटाले जेल जीवनबाट मुक्त भएपछि नयाँ जीवनको सुरुवात गर्न र जीवन शैली परिवर्तन गर्न यी पुस्तकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले भने,‘त्यसका लागि जेल जीवनलाई अध्ययनशील बनाउनुहोस् ।’ उनले फुर्सदको यो समयमा पुस्तक पढेर जीवनलाई परिवर्तन बनाउन पनि अनुरोध गरे ।

कारागारमा रहेका कैदीबन्दीहरुको ज्ञान, चेतना र सिर्जना फैलाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकाले यसको पूर्णरुपमा उपयोग गरी जीवनलाई ज्ञानवर्धक बनाउन पुस्तकले सहयोग गर्ने अध्यक्ष सापकोटाले बताएका छन् ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष जीवन नेपाल पनि सहभागी थिए । उनले कारागारका कैदीबन्दीको हातमा पुस्तक परेपछि उनीहरूको व्यवहारमा परिवर्तन आउन सक्ने बताएका छन् । उनले पुस्तक मानसिक स्वास्थ्यका लागि पनि सहयोगी बन्ने अपेक्षा गरे।

कार्यक्रममा बन्दी विकास पुस्तकालयका सचिव रमेश पोख्रेलले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाको खुलेर प्रशंसा गरे । एक दिनको ८० र ७ सय ग्राम चामल सरकारले दिएको छ । सरकारको झिनो सुविधाले कारागार भित्र पुस्तक, खेलका सामाग्री लगायत बन्दीका आधारभूत आवस्यक्ता पुरा नभइरहेको अवस्थामा पठन सामाग्रीले आफूहरूलाई राहत दिएको उनले बताए ।

उनले सङ्ख्यात्मकभन्दा पनि गुणात्मक किसिमका पुस्तकहरू प्राप्त भएकोमा खुसी व्यक्त गरे । सचिव पोख्रेलले जेलबाट बाहिरिए पछि हामी कैद भुक्तान गरिसकेकालाई बाहिरी समाजले हेर्ने दृष्टिकोण फरक हुने गरेको गुनासो । ‘कानुन जानेर वा नजानेर गरेका गल्तीको सजाय भोगी सकेपछि पनि बाहिरी समाजले हामीलाई अपराधीकै संज्ञा दिने र अर्को अपराध घटाउने गरेको छ,’उनले भने ‘कैदीलाई बाहिरी समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सरकारले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले सुझाए ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य रविन बराल, प्रदेश उपाध्यक्ष राजकुमार दाहाल, झापा ४ का इकाई अध्यक्ष दुर्गा घिमिरे र व्यवसायी महासङ्घका पदाधिकारीको सहभागिता थियो । झापा कारागार भित्र आयोजना भएको कार्यक्रमको सहजिकरण सचिव चन्द्रमणि घिमिरेले गरेका थिए ।

 

सम्बन्धित समाचार