२०८३ बैशाख ३० गते , बुधबार

कनकाई नगरपालिका र जनता एग्रोबीच सम्झौता

sajilo news
झापा
२०८० पौष २८ गते , शनिबार
कनकाई नगरपालिका र जनता एग्रोबीच सम्झौता

झापाको कनकाई नगरपालिका र जनता एग्रोबीच सम्झौता भएको छ । प्राङ्गारिक व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवर्द्धनका लागि दुई पक्षबीच आज काठमाडौँमा सम्झौता भएको हो । कृषिमा आधारित बहुसङ्ख्यक नगरवासी रहेकाले उनीहरूलाई व्यावसायिक कृषि पेसामा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले कनकाई नगरपालिका र जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड बीच व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवर्द्धन गर्ने गरी सम्झौता भएको सम्झौता कार्यक्रममा सहभागी बनेका कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिए ।

सम्झौता पत्रमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र जनता एग्रोका अध्यक्ष पवनकुमार गोल्यान ले हस्ताक्षर गरेका छन् ।सम्झौतासँगै कनकाई नगरपालिकाका किसानले व्यावसायिक कृषिलाई अघि बढाउन आवश्यक तालिम, बीउबिजन तथा प्राङ्गारिक मल, कीटनाशक औषधि र उत्पादन खरिद–बिक्री सम्मको व्यवस्था जनता एग्रो एन्ड फरेस्ट्रीले गर्ने भएको छ ।

हस्ताक्षर कार्यक्रममा जनता एग्रोका अध्यक्ष गोल्यानले कनकाई नगरपालिकाका किसानले उत्पादनको उचित मूल्य र बजार पाउने विश्वास व्यक्त गरे । उनले जनता एग्रोले जग्गा बाँझो राखेर युवा विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य गर्न व्यावसायिक कृषि ‘खेतीदेखि विक्रेता’ सम्म गुणात्मक उत्पादन र आपूर्ति प्रणालीको विकास गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु¥याउने उद्देश्यले स्थानीय तहहरूसँग सम्झौता गरिरहेको बताए ।

अध्यक्ष गोल्यानले कनकाईका किसानले १ बिघा जग्गामा खेती गरेर वार्षिक ५० हजार कमाउन नसक्ने अवस्था रहेको भन्दै आफूहरूले पाँच वर्षमा ५ लाख आम्दानी गर्न सक्ने बनाउने प्रतिबद्धता जनाए । उनले नेपालमा ४ खर्बको कृषि वस्तु आयात भइरहेको तर नेपालमै कृषि उत्पादन गरी ४ खर्ब बराबरको निर्यात गर्न सक्ने अवस्था रहेको बताए । अध्यक्ष गोल्यानले आयात भइरहेको ४ खर्ब कृषि वस्तु आगामी ५ वर्षभित्रमा शून्यमा ल्याउने प्रयासमा नगरपालिको साथ सहयोग हुने विश्वास व्यक्त गरे ।

नगरपालिकासँगको सम्झौता र सहकार्यले कनकाई नगरपालिकामा हुने कृषि उत्पादनको पहिचान, उद्यमको विकास तथा कृषि प्रशोधन उद्योगको स्थापना गर्न सुधार पुग्ने उनको विश्वास छ ।नगर प्रमुख पोखरेलले जनता एग्रोसँगको सम्झौताले कनकाई नगरपालिकाभित्र कृषि उत्पादन र उद्यमका क्षेत्रमा क्रियाशील उद्यमी तथा नवउद्यमीलाई अवसरको ढोका खुलेको बताए ।

उनले जनता एग्रोसँगको सम्झौतासँगै किसानको जीविकोपार्जनको ग्यारेन्टीमा सघाउ पुग्ने र आर्थिक रुपमा समृद्धितर्फ अगाडि बढाउने विश्वास व्यक्त गरे ।जनता एग्रोले स्थानीय तहहरूसँग समन्वय र सहकार्य गर्दै प्राङ्गारिक कृषि उत्पादन वृद्धि गरी बजारीकरणका लागि पहल गरिरहेको जनाएको छ । सम्झौता कार्यक्रममा कनकाई नगर उपप्रमुख आशा शर्मा सिवाकोटी, कार्यपालिका सदस्य, वडाध्यक्ष गरी करिब १७ जनाको टोली काठमाडौँ पुगेको छ ।

सम्बन्धित समाचार