२०८३ बैशाख ११ गते , शुक्रबार

शुभसाइत सहकारीको साइत बिग्रेपछि....

sajilo news
दीपक अधिकारी
२०८० पौष २४ गते , मंगलबार
शुभसाइत सहकारीको साइत बिग्रेपछि....

भद्रपुर । सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप देशका कृषक, कालिगड, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा आम सर्वसाधारण माझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, समुदायमा आधारित, सदस्य केन्द्रित लोकतान्त्रिक, स्वायत्त र स्वशासित सङ्गठनको रूपमा सहकारी संस्थाहरू स्थापना गरिएको हुन्छ ।

सहकारी मार्फत समग्र समाजको आर्थिक विकासलाई सरलीकृत गर्न ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने  नाराका साथ सुरु गरिएको सहकारी अभियानलाई पछिल्लो समय केही सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीको लोभी पापी मानसिकताका कारण अहिले  मुलुकभर बदनाम भएका छन् । 

राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको चर्चा परिचर्चा चलिरहँदा भद्रपुरमा पनि एउटा सहकारीले बचतकर्ताको रकम फिर्ता नगर्दा बचतकर्ता र सहकारीका सञ्चालक/ कर्मचारीबीचमा कुनैपनि बेला भिडन्त हुनसक्ने भएको छ ।

त्यसो त सहकारीले भद्रपुरमा आम सर्वसाधारणको बचत रकम हिनामिना गरेको पहिलो पल्ट भने होइन । यस अघि ऐँचो पैँचो बचत तथा ऋण सहकारी संस्था ली., धनलक्ष्मी बचत तथा ऋण सहरकारी संस्था ली. र  पहिलो पाइला बचत तथा ऋण सहकारी संस्थाले पनि सयौँ बचतकर्ताको रकम फिर्ता नदिएर समस्या आएको थियो । 

अहिले सुनसरीमा दर्ता भएर भद्रपुरमा सञ्चालन गर्दै आएको शुभ साइत बचत तथा ऋण सहकारी संस्था ली.ले बचतकर्ताको रकम फिर्ता नदिँदा बचतकर्ताहरू आक्रोशित भएका छन् । 

कसरी सुरु भयो त शुभ साइत बचत तथा ऋण सहकारी संस्था ली.?

यो शुभ साइत बचत तथा ऋण सहकारी संस्था ली. २०७० सालमा सुनसरीमा दर्ता भएको हो । अर्काको देखासिकीमा ठुलै महत्त्वाकाङ्क्षा राखेर खोलिएको सहकारी १ वर्ष पनि चल्न सकेन र बन्द भयो । 

भद्रपुरमा कसरी  शुभ साइत बचत तथा ऋण सहकारी संस्था ली.?

सन्जोग गिरी, शुभ साइत बचत तथा ऋण सहकारी संस्था ली.को अहिलेका उपाध्यक्ष तथा व्यवस्थापक वैदेशिक रोजगारीबाट फर्केर बिर्तामोडको अन्नपूर्ण बचत तथा ऋण सहकारीमा ३ वर्षदेखि काम गरिरहेका थिए । अन्नपूर्ण सहकारी पनि बन्द भएको सहकारी थियो । पछि फेरि सञ्चालन गरिएको हो । त्यस सहकारीको अध्यक्ष पनि प्रभात खड्का नै थिए । बन्द भएर बसेका सहकारी सञ्चालन गरेर कमाउन पल्केका खड्काले गिरीलाई दर्ता भएर सञ्चालन नभई  दराजमा थन्केको सहकारी खोज्न भने पछि गिरीले एक जना छिमेकी  राजवंशीलेसंग यो शुभ साइत सहकारीको बारेमा पत्ता लगाएका थिए । 

 त्यसपछि खड्काले  २०७७ साउन १७ गते आफ्नी श्रीमती उमा दाहाललाई अध्यक्ष र सन्जोग गिरीलाई उपाध्यक्ष तथा व्यवस्थापक बनाएर भद्रपुर–१० (चन्द्रगढी)मा शुभ साइत बचत तथा ऋण सहकारी संस्था ली. पुनः सञ्चालन गराएका थिए ।  अन्य पदाधिकारीको बारेमा यहाँ (चन्द्रगढी कार्यालयमा) कुनै जानकारी नदिएको तर इनरुवा सहकारी डिभिजन कार्यालयमा नगरपालिकाबाट मूल फायल ल्याएर सहकारी अपडेट गर्ने जानकारी दिएका थिए ।

विभिन्न सहरकारी मार्फत आम सर्वसाधारणको रकममा मोज मस्ती गर्न पल्केका खड्काले सुनसरीमा सहकारी सञ्चालन नगरी भद्रपुरमा शाखा सञ्चालन गरेर भद्रपुरवासीको रकममा आँखा गाडे । खड्काको ३ वर्ष अगाडीदेखि नजिक भएर काम गरेका सन्जोगलाई भद्रपुरवासीलाई बेवकुफ बनाउने जिम्मेवारी दिए । खड्काको नियोजित योजना अनुसार शेयर सदस्य बढाउँदै, बचत सङ्कलन गर्दै गए । सुरु सुरुमा विभिन्न प्रलोभनयुक्त आवधिक योजनाहरू देखाएर भद्रपुर–४ को ज्ञानेचौक र जलथल ढडुवामा समेत सम्पर्क कार्यालय सञ्चालनमा ल्याए ।  नेटवर्किङ बिजनेस जस्तो सुरु सुरुमा आकर्षित ब्याज र केहीलाई बिना धितो ऋण समेत दिन थालियो । २ हजार भन्दा बढी शेयर सदस्य र २ करोड भन्दा बढी बचत रकम भएपछि पूर्वनिर्धारित योजना अनुसार इटहरीमा जस्तै कार्यालय बन्द गरेर सहकारी भाग्ने सुरमा लाग्यो ।

सहकारीको गतिविधिमा शङ्का देखिन थालेपछि केही कलेक्टरले समेत जागिर छाड्न थाले । चन्द्रगढीको कार्यालय भद्रपुर–६ (पुरानो नगरपालिका कार्यालय अगाडी दिवाकर शर्माको घरमा) ल्याइयो । जलथल, ज्ञानेचोक कार्यालय बन्द भयो । ज्ञानेचौकमा कृष्ण तुलाधरको घरमा कार्यालय खोलेको सहरकारीले असारदेखि कोठा भाडा समेत तिरेको छैन । अहिले घर धनीले पनि कोठामा ताला लगाइदिएका छन् । त्यसैगरी जलथल ढडुवाका रुद्र भट्टराईको  घरमा कार्यालय राखेकोमा त्यहाँ पनि एक वर्षदेखिको घरभाडा दिएको छैन । 

भद्रपुरमा पनि एकाएक कार्यालय बन्द गरेर राती लगेर सूचना टासी टाप कस्न खोजेपछि बचतकर्ताले उपाध्यक्ष तथा व्यवस्थापक सन्जोग गिरीको घर घेर्न पुगे । अहिले दैनिक जसो कहिले भद्रपुरकाले कहिले जलथलकाले कहिले ज्ञानेचौककाले आफ्नो बचत रकम फिर्ताको माग गर्दै घर घेराउ गरिरहेका छन् । 

सहकारीका उपाध्यक्ष तथा व्यवस्थापक सन्जोग गिरीका अनुसार  शुभ साइत बचत तथा ऋण सहकारी संस्था ली.मा अहिले २ हजार भन्दा बढी शेयर सदस्य रहेका छन् । तर, दैनिक कारोबार (बचत) गर्ने भने १ सय ५० जनाको हाराहारीमा मात्र छन् । २ सय २६ जनालाई १५ हजारदेखि ५ लाख सम्म ऋण प्रवाह गरी उठ्नु पर्ने रकम १ करोड ५० जति रहेको छ । तर, बचत फिर्ता गर्नु पर्ने २ करोड भन्दा बढी रहेको छ । जसमा प्रति व्यक्ति १ हजारदेखि १० लाखसम्मको  रहेको छ । व्यवस्थापक गिरीकै भनाई अनुसार लगानीको सबै रकम उठ्दा पनि बचतकर्ताको रकम फिर्ता गर्न ५० लाख  बढी रकम पुग्दैन । 

संस्थाबाट ५० लाख बढी रकम कहाँ गयो ? यो विषयमा बचतकर्ताले समेत पत्तो पाएका छैनन् । केही टाठाबाठा बचतकर्ताले आफ्नो बचत रकम मात्र माग गरिरहेका छन् । कति बचतकर्ताले अहिलेसम्म पनि कुनै चासो चिन्ता गरेका छैनन् । 

जब दैनिक जसो बचतकर्ताले उपाध्यक्ष तथा व्यवस्थापक गिरीको घर घेर्न थाले अनि पुस १७ गते बिहान ८ बजे प्रेस क्लब भद्रपुरमा पत्रकार सम्मेलन गर्ने तयारीमा जुटे उपाध्यक्ष गिरी र सचिव कञ्चन आचार्य । पत्रकार सम्मेलनमा उपाध्यक्ष गिरी बाहेक सञ्चालक समितिका अरू कोही पनि आएनन् । उपाध्यक्ष गिरी पनि बिना तयारी नाटकीय रुपमा पत्रकार सम्मेलनमा आए । आधार र तथ्यबिना अन्दाजमा बोले । त्यही आएर एउटा साधा पन्नामा ‘हामी सम्पूर्ण बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिबद्धता गछौं । आजको मितिबाट ३ महिनाभित्रमा बचत फिर्ता गर्न सहज वातावरण नभएकोले बचत फिर्ता नमाग्नु होला । यो अवधिमा लगानी असुली गरी बचत फिर्ता गर्ने वातावरण बनाउँदै जानेछौँ ।’ हस्तलिखित पर्चा तयार गरेर प्रेस विज्ञप्तिको नाम दिएर बाँडे । कार्यसमितिमा कति जना छन् ?, को को छन् ? शेयर पुँजी कति छ ? शेयर सदस्य कति छन् ? बचत रकम कति छ ? ऋण लगानी कति छ ? उपाध्यक्ष तथा व्यवस्थापकले सबै अन्दाजमा जवाफ दिए । पत्रकार सम्मेलनमै बचतकर्ताले गिरीलाई घे¥यो ।

बचतकर्ताहरूले त्यसैदिन व्यवस्थापक गिरीलाई पक्रेसँगै नगरपालिका लग्यो । शुभ साइत सहकारी सुनसरीमा दर्ता भएकोले भद्रपुर नगरपालिकाले नियमन र कारबाही गर्न नमिल्ने भएकोले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने सल्लाह दिएर पठाए भनपाका सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेलले । त्यसपछि बचतकर्ताहरू बुधबार जिल्ला प्रशासन कार्यालय झापामा उजुरी लिएर पुगे । जिल्ला प्रशासन कार्यालयले पत्र सहित निवेदन जिल्ला प्रहरी कार्यालय झापामा पठायो । पुस २० गते शुक्रबार भनपा ८ नं. वडामा वडा मेलमिलाप समितिमा छलफल गर्ने भनिए पनि कुनै टुङ्गो नलागे पनि आइतबार जिल्ला प्रहरी कार्यालयमा सहकारीले १० दिनभित्रमा बचत फिर्ता गर्ने मौखिक भाका लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा डीएसपी प्रनाउ खगेन्द्रप्रसाद रिजालले जनाएका छन् ।

यता पुस २१ गते शनिबार बिहानैदेखि जलथलका बचतकर्ताले सहकारीका उपाध्यक्ष तथा व्यवस्थापक सन्जोग गिरीको घर घेरे । उपाध्यक्ष गिरीले दुलाल बर्मनको सुन पसलमा सुन रहेकोले सोही बेचेर भएपनि बचत रकम फिर्ता गर्ने  भने पछि बचतकर्ताहरू बिहानै दुलाल बर्मनको घरमा पुगे । हेम सागर बन र मोहित गिरीले ५ वर्ष अगाडी ५ तोला सुन दुलाल बर्मनको सुन पसलमा धरौटी राखी  ३ लाख ४० हजार रकम लिएका थिए ।  शनिबारसम्मको हिसाब गर्दा ४ लाख ४४ हजार भएको र सुनको जम्मा मूल्य ४ लाख ८८ हजार भएकोले ४४ हजार रकम दिएर शनिवार नै हिसाब मिलाएको दुलाल बर्मनले बताएका छन् ।  पैसा नलिई नजाने अडानका साथ भातपानी छाडेर बसेका जलथलवासीलाई अन्तिममा १ लाख ७७ हजार रकम दिएर पठाएको बुझिएको छ ।

सहकारीको गतिविधि प्रति शङ्का

शुभ साइत बचत तथा ऋण सहकारी संस्था ली.को पाइला–पाइलाको गतिविधि शङ्कास्पद  देखिन्छ । अझ शङ्कास्पद त उपाध्यक्षको बोली व्यवहार देखिन्छ । कि त कतैबाट सञ्चालित हुनुपर्छ, कि त स्वयं गिरीको नियत नै खराब हुनुपर्छ । यत्रो घटना भयो गिरीले सञ्चालक समितिलाई वायस गरिरहेका छन् । सञ्चालक समितिमा को–को छन् समेत भन्न खोजिरहेका छैनन् ।  अध्यक्षको नाम समेत फरक फरक बताई रहेका छन् । पत्रकार सम्मेलनमा अध्यक्षको नाम मदन श्रेष्ठ भनेका थिए । शनिवार जलथलका बचतकर्तालाई हरि श्रेष्ठ बताई रहेका थिए । फेसबुकमा राज श्रेष्ठ नामबाट फेसबुक आइटी छ । 

उपाध्यक्षले अहिले अध्यक्ष भनेर देखाइएको (मदन, हरि, राज) जे नाम भए पनि को भनाई अनुसार पनि शुभ साइत सहकारीको यो अवस्था आउनुको मुख्य जिम्मेवार उपाध्यक्ष गिरी नै देखिन्छन् । उनले भनेका छन्–‘म नाम मात्रको अध्यक्ष हो । मेरो त्यो सहकारीमा आउजाउ छैन । सबै कारोबार उपाध्यक्षले गरेको हो । म काठमाण्डौमा बस्छु, अहिले समस्या आएपछि मात्र मलाई बोलाइएको हो ।’

ठाउँ नै पिछे फरक–फरक नाम राख्ने र ठेगाना समेत फरक–फरक बताउने  राज श्रेष्ठ आफू १ वर्ष पहिले अध्यक्ष भएको दाबी गर्छन् । श्रेष्ठ उपाध्यक्ष बाहेकको सञ्चालक समितिमा को–को छन् भन्ने पनि थाहा नभएको बताउँछन् । समस्या के हो भन्ने समेत राम्ररी थाहा नभएको बताउने राज नै त्यो सहकारीको अध्यक्ष हुन् वा समस्या समाधानका लागि देखाइएको पात्र मात्र हुन् भन्ने शङ्का गर्ने प्रशस्त ठाउँ देखिन्छ । 

त्यति मात्र होइन, सचिव भनिएकी कञ्चन आचार्यले पनि अहिलेसम्म सचिवको हैसियतले कतै बैठकमा सहभागी नभएको बताएकी छिन् । आचार्यले भनिन्– ‘सचिव र कोषाध्यक्ष भनिएका हामी यो सहकारीको सङ्कलक हौँ । हामीले अहिलेसम्म सचिव र कोषाध्यक्षको हैसियतले कतै बैठकमा सहभागी भएको, कुनै माइन्यूटमा सही गरेका छैनौँ । सचिव र कोषाध्यक्षको पद मात्र सुनाइएको छ ।’

अध्यक्ष भनिएका व्यक्ति र सचिव भनिएका व्यक्तिको भनाई अनुसार सहकारीमा उपाध्यक्षकै चलखेल रहेको र बचतकर्ताको रकम हिनामिना पनि उपाध्यक्षबाटै भएको देखिन्छ । बन्द भएको सहकारी ल्याएर २०७७ मा सञ्चालन गर्दादेखि अहिलेसम्म एउटै व्यक्ति उपाध्यक्ष र व्यवस्थापक रहिरहनु अरू सञ्चालक कोही नदेखिनु अनि ५० लाख भन्दा बढी रकम बेपत्ता हुनु उपाध्यक्षकै हात हुनसक्ने अनुमान लगाउन गाह्रो पर्दैन । 

सहकारी ऐनको ध्वजजी उठाउनै शुभ साइत

अझ मुख्य कुरा त शुभ साइत बचत तथा ऋण सहकारी संस्थाले सहकारी ऐन कै ध्वजजी उडाएको छ । सहकारी ऐन २०७४ को दफा ४४ सञ्चालक पदमा बहाल नरहने अन्तरगत उपदफा   (घ) मा भनिएको छ–‘ कुनै पनि पदाधिकारी सोही वा अर्को सहकारी संस्थामा कर्मचारी रहेका सञ्चालक पदमा बहाल रहन सक्ने छैन ।’ तर, शुभ साइत बचत तथा ऋण सहकारी संस्थाले ऐन विपरीत व्यवस्थापकलाई उपाध्यक्ष र संकलकलाई सचिव र कोषाध्यक्ष बनाएको छ । 

यसरी खुलेआम ऐनको ध्वजजी उडाएर सहकारी सञ्चालन गर्दा समेत नियमनकारी निकायले चासो नदेखाउनु अर्को आश्चर्य भएको छ । त्यति मात्र हैन ऐन विपरीत सञ्चालन गरेको सहकारीलेले आफ्नो स्थानीय वासीको करोडौँ रकम कुम्ल्याउँदा पनि स्थानीय निकायहरू मेरो जिम्मेवारीमा पर्दैन भन्दै पन्छिनुले पनि   ऐनको ध्वजजी उडाउनेलाई प्रोत्साहन मिलेको हुनुपर्छ ।

दोषी सहरकारी मात्र हैन, बचतकर्ता पनि हुन

यो घटनामा दोषी सहकारी मात्र नभई बचतकर्ता पनि हुन् । सहकारीको खाता खोल्दा र रकम बचत गर्दा  पहिला सहकारीको बारेमा विस्तृत नबुझ्नु बचतकर्ताको कमजोरी हो । सहकारीको खाता खोलिसक्दा आफू त्यस सहकारीको मालिक भएको नबुझ्नु, सहकारीलाई बैङ्क जस्तो पैसा राख्ने र झिक्ने ठाउँ मात्र सम्झनु, साधारण सभामा सहभागी नहुनु, सङ्कलकको भरोसामा खाता खोल्नु तथा रकम जम्मा गर्नु, सहकारीको वार्षिक प्रतिवेदनहरूको अध्ययन नगर्नु लगायतका कमीकमजोरीका कारण आम सर्वसाधारण सहकारीबाट पटक–पटक ठगिन्छन् ।

अन्त्यमा, समग्रमा भन्नु पर्दा यो शुभ साइत बचत तथा ऋण सहकारी संस्था ली. अब भद्रपुरमा सञ्चालनमा आउने सक्ने अवस्था देखिँदैन । अहिले लगानी रकम उठाएर बचत फिर्ता गर्ने भन्दै बचतकर्तालाई आशा दिलाएर ऋण उठाउने कार्यमा लागेको छ । बचतकर्ताले पनि अहिले नभए २/४ महिनामा आफ्नो पैसा पाउने विश्वास गरेका छन् । तर, त्यो सम्भावना देखिँदैन । लगानीबाट उठ्ने रकम र बचत फिर्ता गर्नु पर्ने रकमको फरक ५० लाखभन्दा बढी देखिन्छ । सुरु सुरुमा २÷४ जनालाई केही रकम दिए जस्तो गर्छन् । अनि उठेको रकम लिएर टाप कस्छन् । अहिले पो लगानी उठाउनु छ, लगानी उठाएपछि र ठाउँ नै छाडेपछि को खोज्दै जान्छ । तै चुप मै चुप ।

 

सम्बन्धित समाचार