मेचीनगरमा प्रथम जोरसिमल कप फुटबल प्रतियोगिता सुरु
मेचीनगर । मेचीनगर ७ मा सोमबारदेखि 'प्रथम जोरसिमल कप २०८०’ फुटबल प्रतियोगिता सुरु भएको छ । पुस ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन् । प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि उप्रेतीले खेलकुदले मानिसलाई अनुशासित र स्वास्थ्य रहन मदत पुर्याउने बताइन् ।
अहिले युवापुस्तामा विद्यमान बन्दै गइरहेको लागुऔषध दुव्र्यशनी निर्मूल पार्न पनि खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले सबैलाई खेलकुदसँग जोड्नुपर्ने बताइन् । साथै उनले स्थानीय सरकारको तर्फबाट खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताइन् ।
कार्यक्रममा त्यस्तै मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओलीले वडामा हुने यी र यस्ता प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्ने गरेको बताए । उनले वडाले आफ्नो क्षेत्रमा हुने सबै खेललाई प्राथमिकतामा राखेर अगाडी बढिरहेको बताए ।सञ्जय मेचेको अध्यक्षतामा आयोजना भएको प्रतियोगिताको उद्घाटन सत्रमा स्वागत रविनशन थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन अभिषेक सार्कीले गरेका थिए ।
त्यस्तै आज भएको प्रतियोगीको उद्घाटन खेलमा आयोजक युवा क्लब जोरसिमल विजयी भएको छ । आयोजकले मोहन कित्ता फुटबल क्लबलाई १० गोल अन्तरले पराजित गरेको छ । जितका लागि आयोजकको तर्फबाट विकास दनुवारले खेलको दोस्रो हाफको २०औं मिनेटमा गोल गरेका थिए । आजको खेलको मेन अफ दी म्याच युवा क्लब जोरसिमल का विकास दनुवार घोषित भए । उनलाई मेचीनगर युवा परिषद् उपाध्यक्ष विवेक खवासले वितरण गरेका थिए ।
मेचीनगरको विभिन्न क्लबसहित अन्य क्षेत्रका ११ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजारसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले पनि ट्रफि र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा वेस्ट डिफेन्डर, वेस्ट गोल किपर, राइजिङ प्लेयर, मेन अफ द टुर्नामेन्टलगायतका व्यक्तिगत विधामा पनि खेलाडीहरूलाई पुरस्कृत गरिने छ ।