प्रिमियर लिगमा लुटन टाउनका कप्तान हृदयाघात भएर मैदानमै ढलेपछि...
काठमाडौं । इंग्लिस क्लब लुटन टाउनका कप्तान टोम लकियरलाई हृदयाघात भएको छ। गएराति बर्नमाउथसँगको खेलका दौरान हृदयाघात भएपछि खेल रद्द गरिएको छ। खेलको ६५ औं मिनेट चलिरहँदा उनी मैदानमै ढलेका थिए।
२९ वर्षे खेलाडी टोम मैदानमा ढलेको समयमा खेलको स्कोर १–१ को बराबरी भएको थियो। उनको आसपासमा केही खेलाडी नभएको समयमा उनी मैदानमा ढलेका थिए। त्यसपछि बाँकी खेलाडी र लुटनका अफिसियलले उनलाई तत्कालै अस्पताल लैजानुपर्ने भन्दै इसारा गरेका थिए।
त्यसपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर ल्याइएको थियो। बर्नमाउथको भिटालिटी रंगशालाका उद्घोषकले त्यसको केही समयमा पछि बाँकी खेल नहुने जानकारी दिएका थिए।
मैदानबाट बाहिर निकालिएपछि टोमको होस आएको र अहिले अस्पतालमा स्थिर अवस्थामा रहेको क्लबले जानकारी दिएको छ। गत मे महिनामा लुटनले प्रोमोसनको प्लेअफ खेल्दा पनि लाकियर खेलकै दौरान मैदानमा ढलेका थिए।
त्यसपछि उनको मुटुको शल्यक्रिया गरिएको थियो। गएराति भएको खेलमा पाहुना टोली लुटनले खेलको तीन मिनेटमा नै अग्रता बनाएको थियो। तर ५८ औं मिनेटमा बर्नमथले गोल फर्काएपछि खेल एक–एकको बराबरी भएको हो।