नेपाल सुपर लिगमा झापाको पहिलो जित
झापा एफसीले जारी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकाल्दै प्लेअफको सम्भावना कायमै राखेको छ। झापाले मंगलवार दशरथ रंगशालामा बुटवल लुम्बिनीमाथि १–० को साँघुरो जित निकाल्दै प्लेअफको सम्भावना जीवितै राखेको हो। दोस्रो सिजनबाट एनएसएलमा डेब्यु गरेको झापाले पाँचौं खेलमा पहिलो जित निकाल्यो। एक जित र तीन बराबरीबाट ६ अंक बटुल्दै झापा छैटौं स्थानमा छ।
यता, बुटवल भने दुई जित, एक बराबरी र तेस्रो हारसँगै सात अंकका साथ पाँचौं स्थानमा छ। त्यसअघि खेलको पहिलो आक्रमण आठौं मिनेटमा झापा एफसीले गर्यो।
होर्गे सान्चेजले पेनाल्टी क्षेत्रबाट गरेको सट बुटवलका गोलकिपर मोहमोडुले रोके। त्यसलगत्तै काउन्टर अट्याकमा बुटवलका स्टेफन बिनोङको सट माथिल्लो बारभन्दा केही माथिबाट बाहिरियो। बुटवलले १३औं मिनेटमा गरेको आक्रमण दोस्रो बारमा ठोक्किएर फर्किन पुग्यो।
बिनोङको पासमा सर्ज सङको पहिलो सट ठोकिएर फर्कियो। सोही बल नियन्त्रणमा लिँदै सङले गरेको अर्को सट भने झापाका गोलकिपर स्टेफन सुपिचले रोके। २०औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट झापाका कप्तान अन्जन विष्टको सशक्त प्रहार बुटवलका गोलकिपर मोहमोडुले उत्कृष्ट बचाउ गरे।
सोही रिबाउन्डमा बलमा लक्ष्मण रुचाल वान भर्सेस वानमा गोल गर्न चुके। ३९ औँ मिनेटमा सान्चेजको गोलबाट झापाले अग्रता लियो। अञ्जन बिष्टको पास नियन्त्रणमा लिएका सान्चेजले पेनाल्टी क्षेत्रमा दुई डिफेन्डरलाई छकाउँदै सुन्दर गोल गरे। त्योसँगै पहिलो हाफमा झापा १–० ले अगाडि रह्यो। ६१औं मिनेटमा कप्तान अन्जनले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन्।
आभास लामिछानेको लामो पास नियन्त्रणमा लिएका अञ्जन करिब १५ यार्डबाट गोल गर्न असफल रहे। झापाका लागि ७६ औं मिनेटमा प्रदीप लामाले अवसर खेर फाले। कप्तान अञ्जनले दिएको उत्कृष्ट पास पेनाल्टी क्षेत्रमा रहेका प्रदीपले सट प्रहार गर्न सकेनन्।
८०औं मिनेटमा कप्तान अन्जनको स्थानमा उज्ज्वल राई मैदानमा प्रवेश गरे। ८३ औं मिनेटमा झापाका लागि गोल गर्ने दुईवटा अवसर सफल हुन सकेन। सान्चेजले लेफ्ट साइडबाट गरेको पहिलो प्रहार बुटवलका गोलकिपर मोहमोडुको हातमा टच हुँदै माथिल्लो बारमा लागेर फर्कियो।
लगत्तै रिबाउन्ड बलमा समिराज थोकरको हेडमा मोहमोडुले रोके। ८९ औं मिनेटमा बिनोङले बुटवलको खेलमा फर्कने अवसर खेर फाले। अशोक झापाको फ्री किकमा अफसाइड बिट गर्दै पेनाल्टी क्षेत्रमा छिरेका बिनोङ वान टच गोल गर्न चुके।
इन्जुरी समयको पहिलो मिनेटमा प्रदीप लामाले पेनाल्टी बक्सबाट गोल गर्न सकेनन्। त्योसँगै बाँकी समयमा केही आक्रमण भए पनि थप गोल हुन सकेन र झापाले बुटवलमाथि साँघुरो जित निकाल्यो।