२०८३ बैशाख १५ गते , मंगलबार

नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

sajilo news
झापा
२०८० मंसीर २२ गते , शुक्रबार
नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

एसीसी यू-१९ एशिया कपको पहिलो खेलमा नेपाल शुक्रवार पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमीको दोस्रो मैदानमा नेपालले दिएको १५३ रनको सामान्य लक्ष्य पाकिस्तानले २६ ओभर २ बलमै ३ विकेटमात्र गुमाएर पार गर्‍यो।

​पाकिस्तानका लागि अजान अविसले ६२ बलमा ८ चौका हान्दै सर्वाधिक ५६ रन बनाए। कप्तान साद बेगले ५६ बलमा ५ चौका प्रहार गर्दै ५० रन, मोहम्मद जिशानले अविजित २० रन र शाहजेब खानले १५ रन बनाए।

तेस्रो विकेटका लागि अविस र बेगले १०८ रनको साझेदारी गरेपछि पाकिस्तान सहज विजयतर्फ लम्किएको थियो। नेपालका लागि गुल्सन झाले २ र आकाश त्रिपाठीले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर २ बलमा सबै विकेट गुमाएर १५२ रनमात्र बनाउन सक्यो। नेपालका लागि उत्तम थापा मगरले ७४ बलमा ३ चौका र २ छक्का ठोक्दै सर्वाधिक ५१ रन बनाए भने दीपेश कँडेलले ३१ रन बनाए। अर्जुन कुमालले २१ रन बनाए।

यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। गुल्सन झा, विशालविक्रम केसी १/१ रनमा आउट हुँदा कप्तान देव खनाल र विपिन रावलले खाता नै खोल्न सकेनन्। छैटौँ विकेटका लागि उत्तम र दीपेशले ६८ रनको साझेदारी गरे। 

पाकिस्तानका लागि मोहम्मद जिशानले ९ ओभर २ बलमा १ मेडन राख्दै १९ रन खर्चिएर ६ विकेट लिए। आमिर हसनले २ तथा उबेद शाह र अली अस्फन्दले १/१ विकेट लिए। अब नेपालले आइतवार अफगानिस्तानसँग खेल्नेछ।

सम्बन्धित समाचार