कसरी चकनाचुर भयो भारतको विश्वविजेता बन्ने सपना ?

काठमाडौं । फेरी एकपटक भारतको सपना चकनाचुर भएको छ । करिब १ अर्ब भारतीय क्रिकेट टिमका समर्थकलाई जे डर थियो, त्यही भयो । विश्वकप क्रिकेट २०२३ को फाइनल प्रतिस्पर्धामा आइतबार अहमदावादमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएर विश्व च्याम्पियन ट्रफी छैटौंपटक कब्जा गर्न सफल भयो ।
यसपटक भारत कुनै पनि हालतमा विश्वविजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रिएको थियो । सन् २०११ देखि भारतले विश्वकप जितेको छैन । घरेलु मैदानमा विश्वकपको ट्रफी उचाल्ने भारतको महत्वाकांक्षा कसरी चकनाचुर भयो त रु
ट्रेविस हेडको १ सय ३७ रनको शतकीय पारीको मद्दतमा अस्ट्रेलियाले भारतको २ सय ४१ रनको लक्ष्य ४३ ओभरमा नै हासिल ग¥यो ।
आइतबार १ लाखभन्दा बढी प्रशंसकहरू अहमदावादको नरेन्द्र मोदी स्टेडियममा टिमलाई हौसला बढाउन उपस्थित थिए । स्टेडियम नै भारतीय जर्सीमा रंगिएको थियो । सेमिफाइनलसम्म उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेकाले पनि ट्रफी उचाल्ने टिमका रूपमा भारतलाई हेरिनु स्वाभाविक थियो । उपविजेतामा सीमित भएपछि पनि भारतका धेरै शीर्ष अभिनेता र स्टार खेलाडीले टिमलाई उच्च प्रदर्शनका लागि प्रशंसा गरेर सामाजिक सञ्जाल रंगाए । तथापि, अब अर्को एक दिवसीय विश्वकपका लागि भारतले चार वर्ष कुर्नुपर्नेछ । भारतले विश्वकप नजित्नुमा पिचअनुकूल भारतको रणनीति तयार नभएको हुनसक्ने विश्लेषण पनि भएको छ । अहमदावादको पिच ढिलो र सुक्खा थियो, जुन भारतको रणनीतिक अनुकूल भएन ।
विश्वकपका अघिल्ला सबै खेलमा झै कप्तान रोहित शर्माले भारतका लागि तेज सुरुवात गरेका थिए । रोहितले ३१ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४७ रन जोडे । रोहितलाई साथ दिएका विराट कोहलीले पनि सानदार सुरुवात गरे । उनले मिचेल स्टार्कको १ ओभरमा लगातार ३ चौका प्रहार गरेका थिए । तर, जब रोहित शर्मा आउट भए, तब टिम इन्डियाको ब्याटिङमा कालो बादल मडारियो । आशा गरेजस्तै सुरुवातपछि पनि भारतले बाउन्ड्री खोज्न संघर्ष गरिरहेको थियो । पहिलो १० ओभरपछि बाउन्ड्री स्कोरिङमा आएको तीव्र गिरावटले रन रेटमा अवरोध सिर्जना भयो ।
रोहित शर्मा पेवेलियनमा फर्केपछि भारतीय ब्याट्सम्यानले ११ देखि ४० ओभरको बीचमा जम्मा २ चौका प्रहार गरेका थिए । २७औं ओभरमा राहुलले १ चौका प्रहार गरे भने अर्को चौका सूर्यकुमार यादवले ३९औं ओभरमा प्रहार गरेका थिए । यस समयमा भारतको रनरेट ५ भन्दा पनि तल थियो । ठूलो साझेदारी बनाउन नसक्नु हारको अर्को प्रमुख कारण बन्यो । विराट कोहली र केएल राहुलबीचको एक–एक अर्धशतकको स्ट्यान्डबाहेक अर्को समन्वय देखिएन ।
भारतको कमजोर प्रदर्शनले लिजेन्ड खेलाडी सुनील गावस्कर चकित भए । उनले स्टार स्पोटर््ससँग भने, ‘कोहली र राहुलको पार्टनरसिपका क्रममा पार्टटाइम बलरलाई लक्ष्य गरिएन, मिचेल मार्सले २ ओभरमा जम्मा ५ रन दिए, ट्रेविस हेडले २ ओभरमा ४ रन मात्र दिए, यो त्यही ओभर थियो, जहाँ ब्याट्सम्यानले पार्टटाइम बलरलाई लक्ष्य गर्न सक्थे, कुनै जोखिम नलीकन सहज रूपमा २०÷३० रन जोड्नसक्थे, यसरी हेर्दा हाम्रो स्कोर २ सय ४१ रनको स्थानमा २ सय ६५ वा २ सय ७० रन हुन सक्थ्यो ।’
टिम इन्डियाका पूर्वखेलाडी वीरेन्द्र सहवागले पनि कोहली र राहुलले पार्टनरसिपलाई अझै अगाडि बढाउनसक्ने अवस्था रहेको बताए । उनीहरूले २ सय ५० रनको लक्ष्यलाई ध्यानमा राखेर खेलेको आरोप लगाएका छन् । केएल राहुलले ६६ रन जोड्नका लागि १ सय ७ बल खर्चनु पनि भारतको हार बन्न पुग्यो ।
भारतको मध्यक्रम महत्वपूर्ण मोडमा कमजोर साबित भयो । भारतीय टिममा यो अत्यधिक भरपर्दो थियो । श्रेयस अयर र सूर्यकुमार यादवजस्ता प्रमुख खेलाडीले उल्लेखनीय योगदान दिन सकेनन् । राहुलको सुस्त गतिले इनिङ कमजोर बनायो ।
अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले फाइनल स्पर्धामा टस जितेर पहिले बलिङको निर्णय गरे । उनीहरूको आक्रमण सुरुदेखि नै रह्यो । मिचेल स्टार्कले शुभमन गिललाई ४ रनमा आउट गरे । म्याक्सवेलले कप्तान रोहित शर्मालाई ट्रेविस हेडको हातबाट क्याच आउट गराए । अस्ट्रेलियाको पहिले बलिङ गर्ने निर्णय नै सही साबित भयो । खेल अगाडि बढ्दै जाँदा पछि पिच ब्याटिङमैत्री बन्यो, जसमा अस्ट्रेलियालाई फाइदा पुग्यो ।
भारतीय स्पिनरहरूको प्रभावकारितामा बाधा पु¥याउन शीतले पनि सहयोग ग¥यो । भिजेको बलका कारण अस्ट्रेलियाका ब्याट्सम्यानलाई फाइदा पुग्यो । विशेषगरी ट्राभिस हेड र मार्नस लाबुसचेन पर्याप्त साझेदारी निर्माण गर्न सफल भए । आजको राजधानी दैनिकमा खबर छ ।