२०८० फाल्गुन १० गते , विहीबार

२०५० सम्ममा समुद्रमा ‘माछाभन्दा बढी हुनेछ प्लास्टिक’

sajilo news
पत्रपत्रिका
२०८० आश्विन ३० गते , मंगलबार
२०५० सम्ममा समुद्रमा ‘माछाभन्दा बढी हुनेछ प्लास्टिक’

हालसम्म हामीले भन्दै आएको कुरा हो– ‘समुद्रमा सबैभन्दा धेरै माछा पाइन्छ।’ तर, एक अध्ययनका अनुसार यस्तो पनि दिन आउनेछ जुन दिन समुद्रमा माछाभन्दा धेरै प्लास्टिक हुनेछ। एलेन म्याकआर्थर फाउन्डेसन र वल्र्ड इकोनोमिक फोरमले गरेको एक अध्यनले यो अवस्था धेरै टाढा नरहेको दाबी गरेको छ। अर्थात् सन् २०५० सम्ममा समुद्रमा माछाले ओगटेको हालको अवस्थालाई प्लास्टिकले ओगट्नेछ। 

एउटा सामान्य प्लास्टिकको झोला नष्ट हुन करिब  सयदेखि पाँच सय वर्षसम्म लाग्छ। अहिले यसको प्रयोग विश्वमा अत्यधिक छ। र, सबै प्रयोगपछि पानीमा मिसिएर समुद्रमा पुग्दैछ। विश्वमा प्लास्टिक उत्पादन, त्यसको प्रयोग र व्यवस्थापनको अवस्था हेरेर गरिएको गणनाले यो अवस्था देखाएको अध्ययनमा उल्लेख छ। 

वातावरण क्षेत्रमा कार्यरत संस्थाका अनुसार विश्वभर बर्सेनि पाँच खर्ब वटा प्लास्टिक ब्याग उत्पादन हुन्छन्। हरेक मिनेट १० लाख ब्याग प्रयोग भइरहेका हुन्छन्। जति उत्पादन भइरहेका छन्, त्यत्तिकै अनुपातमा विश्वभर प्लास्टिकजन्य फोहोर पनि बढिरहेका छन्। यो अवस्थाले जलचर प्राणी लोप हुँदै जाने र उनीहरूको स्थान प्लास्टिकले ओगट्नेछ। जलवायु परिवर्तनको असरले हिउँ पग्लने क्रम उच्च हुँदा नदीमा पानीको मात्रा बढ्ने, बाढी आउने र त्यसले पनि समुद्रमा प्लास्टिकलाई चाँडो पुर्‍याउने विज्ञ बताउँछन्। 

राष्ट्रसंघीय वातावरणीय कार्यक्रम युनेपले पनि हरेक मिनेटमा प्लास्टिक फोहोर समुद्रमा मिसिने गरेको देखाएको थियो। त्यसको प्रतिवेदनमा हरेक मिनेटमा एक ट्रकबराबरको प्लास्टिक फोहोर समुद्रमा विर्सजन हुने गरेको उल्लेख छ।  विश्वभर बर्सेनि ४० करोड टन प्लास्टिकको फोहोर उत्पादन हुन्छ।

सन् १९५० मा १५ लाख टन रहेको प्लास्टिकको उत्पादन बढेर २०२१ सम्ममा ३९ करोड टन पुगेको युनेपको तथ्यांकले पुस्टि गर्छ।यो क्रम पछिल्लो दुई वर्षमा अझै बढेको वातावरण विज्ञ बताउँछन्।अध्ययनअनुसार उत्पादित प्लास्टिकमध्ये ९ प्रतिशत मात्र पुनप्र्रयोग गरिन्छ।१२ प्रतिशत जलाइन्छ भने बाँकी ७९ प्रतिशत डम्पिङ साइटमा बिसर्जन गरिन्छ या त्यत्तिकै खुला छाडिन्छ।प्लास्टिकजन्य फोहोरबाट समुद्र सबैभन्दा बढी प्रदूषित हुने गरेको छ।यही क्रम जारी रहे सन् २०५० सम्ममा समुद्रमा माछाभन्दा प्लास्टिक बढी हुने अनुमान छ।यस्तै, प्लास्टिक ब्यागका कारण बर्सेनि एक लाख जलचर मारिने गरेका छन्।

तर, अध्ययनले यसलाई रोक्न सक्ने विकल्पलाई पनि केलाएको छ।प्याकेजिङमा अनावश्यक रूपमा प्लास्टिकको प्रयोग रोक्ने, पुनः प्रयोग बढाउने र वातावरणमैत्री विकल्प अपनाउने हो भने सन् २०४० सम्ममा विश्वव्यापी प्लास्टिक प्रदूषण ८० प्रतिशतले घटाउन सकिने पनि बताइएको छ।एक अध्ययनले हाल विश्वका १ सय २७ मुलुकले प्लास्टिकको प्रयोगमा आंशिक तथा पूर्ण रूपमा रोक लगाएका छन्।यस्तै, अनुसन्धानकर्ताहरूले हालै अस्ट्रेलिया, अमेरिका, बेलायत र युरोपका ३८ वटा तालमा गरेको अनुसन्धानले सबै ठाउँमा प्लास्टिक र माइक्रोप्लास्टिक फेला परेको थियो । आजको अन्नपूर्ण पोष्टमा खबर छ । 

सम्बन्धित समाचार