कोशी प्रदेशमा एमालेसहितको मन्त्रिपरिषद् विस्तार
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमाले सांसद रामबहादुर रानासहितको तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आइतबार इलामका काँग्रेस सांसद शमशेर राईलाई पनि मन्त्रीमा नियुक्त गरेका छन् । राना पनि इलामकै हुन् ।
काँग्रेसका विद्रोही सांसदमध्ये इलामका राई र एमालेबाट दलका उपनेता इलामकै राना मन्त्री नियुक्त भएका हुन् ।राई र राना दुवै जना एउटै जिल्ला इलामबाट निर्वाचित प्रदेश सांसद हुन् । यसअघि उद्धव थापा नेतृत्वको सरकारमा एउटै जिल्लाबाट दुई जना मन्त्री भएको जिल्ला ओखलढुङ्गा थियो ।
संविधानको धारा १६८ (५) अनुसार अनुसार काँग्रेसका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । काँग्रेसका सांसदहरू काँग्रेस नेता शेखर कोइराला निकटका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेदेखि नै कोइरालाले मुख्यमन्त्री कार्कीलाई बनाउन लबिङ गर्दै आएका थिए ।
शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा र कोइरालाबीच सत्तारुढ गठबन्धनलाई मजबुत बनाउने सहमति गरेका थिए । एमालेले कार्कीसँग तीन विषयमा सहमति भएको र त्यसमा सरकारमा सहभागिताको विषय समेत रहेको जनाएको छ । उनीहरूले कार्की आफ्नो प्रतिबद्धतामा इमानदार रहेसम्म समर्थन गर्ने जनाएको छ ।