वडास्तरीय नकआउट फुटबलमा बिर्तामोड २ सेमिफाइनल
झापा । बिर्तामोड वडा नम्बर १ विरुद्ध ५–१ गोल अन्तरको जित निकाल्दै बिर्तामोड २ चौथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा आज भएको प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा बिर्तामोड १ लाई ५–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड २ सेमिफाइनलमा प्रवेश हो ।
आजको खेलमा बिर्तामोड २ का लागि बिराज लिम्बू नायक बने । उनले खेलमा व्यक्तिगत ४ गोल गरे । पहिलो हाफको २१ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका लिम्बूले खेलको ५१ औं र ५३ औं मिनेटमा लगातार २ गोल गर्दै ह्याट्रिक पुरा गरे । बिराजले खेलको ७० औं मिनेटमा टिमका लागि पाचौंैं तथा व्यक्तिगत चौथो गोल गरेका थिए । विपक्षी टिमको गोल किप्परको कमजोर प्रदर्शनको फाइदा उठाउँदै उनले खेलमा ४ गोल गरेका थिए ।
बिर्तामोड २ का लागि चौथो गोल भने खगेन राजवंशीले गरे । उनले खेलको ५९ औं मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागी चौथो गोल गरेका थिए । पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको बिर्तामोड १ का लागि दिवस मगरले सान्त्वना गोल फर्काएका थिए । उनले निर्धारित ७० मिनेटको खेलको पहिलो हाफको ३० औं मिनेटमा बिर्तामोड २ विरुद्ध १ गोल गरेका थिए । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने बिर्तामोड १ ले थप ४ गोल खाएको थियो ।
आजको खेलमा टिमका लागि ४ गोल गर्ने विजयी टिमका बिराज लिम्बू ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर १ का वडाअध्यक्ष तथा नगर प्रवक्ता अग्नि प्रसाद पाण्डेले पुरस्कार प्रदान गरेको थिए । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्ने छ । प्रतियोगितामा भोलि हुने तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड ४ र बिर्तामोड ८ बिच खेल हुने आयोजक समितिका उपाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल कात्तिक २ गते हुने छ ।