झापा–इलाममा ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्धन कार्यक्रम’ प्रभावकारी

भद्रपुर । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरिरहेको ‘उद्योगहरूमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्धन कार्यक्रम’ झापा र इलाममा प्रभावकारी देखिएको छ ।
झापा र इलाममा अलैँची तथा चिया क्षेत्रमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी देखिएको सरोकारवालाहरू बीच झापाको बिर्तामोडमा आयोजित योजना बैठकमा सहभागीहरूले बताएका हुन् ।
महासंघले गत वर्ष सुरु गरेको प्रशिक्षणात्मक सो कार्यक्रमले चिया तथा अलैँची उद्योग सम्बद्ध सबै पक्षलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको विषयमा सचेत गराउनुका साथै यसअघि उद्योगहरूमा देखिएका कमी–कमजोरी सुधारमा ठुलो मद्दत पुगेको बैठकका सहभागीहरूले बताएका थिए ।
नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित योजना बैठकमा नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेशकुमार अग्रवाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, साना किसान चिया प्रशोधन उद्योग, पृथ्वीनगरका प्रबन्धक देवीप्रसाद कोइराला, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश सदस्य ऋषिराज तिम्सिनालगायतले चिया तथा अलैँची क्षेत्रमा यो कार्यक्रम प्रभावकार देखिएको र यसलाई निरन्तरता दिनुपर्ने सुझाव राखेका थिए ।
चिया र अलैँची प्रशोधन क्षेत्रमा धूलो र धुवासँग सम्बन्धित क्षेत्र भएकोले सुरक्षा र स्वास्थ्यका दृष्टिकोणले यसमा आबद्ध सबै पक्ष जोखिममा रहने गरेको उल्लेख गर्दै नेपाल चिया उत्पादक संघका अध्यक्ष अग्रवालले यो कार्यक्रमपछि धुलो र धुवाँ व्यवस्थापनका पक्षमा धेरै सुधार आएको बताएका थिए ।
अहिले अधिकांश उद्योगहरूमा मजदुरहरूले पनि ग्लोब्स–मास्क लगाउने, उद्योगहरूमा प्राथमिक उपचारका सबै खाले सामग्री–औषधिको व्यवस्थापन भइरहेको, कार्यक्रमले निर्देश गरे अन्सार सुरक्षाका सबै खाले उपाय अपनाएको पाइएको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष भट्टराईको भनाइ थियो ।
बिर्तामोडको होटल हेवनमा हालै आयोजित योजना बैठकको सहजीकरण नेपाल उद्योग वाणिज्य महासंघका अधिकृत हरि पौडेलले गरेका थिए ।
उद्योगहरूमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्धन कार्यक्रमबाट हालसम्म झापा र इलामका ३० वटा चिया तथा अलैँची उद्योगका एक हजार बढी मजदुर, सञ्चालक र कर्मचारीहरूलाई विभिन्न समयमा प्रशिक्षण तथा अभिमुखीकरण गरिसकिएको झापामा यो कार्यक्रमलाई संयोजन गरिरहेका नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले जानकारी दिए ।