२०८२ बैशाख ९ गते , मंगलबार

दुर्घटनामा झापाका निरौला मृत्यु प्रकरण : अपराध लुकाउन किर्ते कागजात बनाएको खुलासा

sajilo news
झापा
२०८० आश्विन १० गते , बुधबार
दुर्घटनामा झापाका निरौला मृत्यु प्रकरण : अपराध लुकाउन किर्ते कागजात बनाएको खुलासा

झापा । ‘मर्निङवाक’ निस्किएका अर्जुनधारा नगरपालिका–६का ५१ वर्षीय कृष्णप्रसाद निरौलाको १९ चैत २०७८मा बोलेरो पिकअपको ठक्करबाट मृत्यु भयो । पुलचौक छेउमा पैदल हिँडिरहेका निरौलालाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बोलेरो पिकअपले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । सोही दुर्घटनामा स्थानीय अर्जुनकुमार उप्रेती समेत घाइते भएका थिए ।

घटना विवरण अनुसार विहान ५ः१० बजेको समयमा निरौला र उप्रेतीलाई प्रदेश नम्वर १–०१–००१च ९१०७ नम्वरको बोलेरो पिकअपले ठक्कर दिएको थियो । बोलेरो पिकअपको ठक्करबाट निरौलाको मृत्यु भएसँगै बोलेरो पिकअपका चालक दिनेश विश्वकर्मा फरार भए । उनी फरार हुनुको एक मात्र कारण थियो, चालकको सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’ नहुनु ।

उनको लाइसेन्स नभएपछि सवारीधनी अर्जुन नेपालीले सो बोलेरो पिकअप आफूले चलाएको भन्दै घटनालाई साम्य बनाउन लागे । सवारी दुर्घटना हुनुको मुख्य कारण चालकको लापरवाही भएको ट्राफिक प्रहरीको घटना मुचुल्कको स्केचले समेत देखाएको छ ।

तीब्र गतिमा रहेको बोलेरो पिकअपले निरौलालाई ठक्कर दिएको र लापरवाही तरिकाले सवारी चलाएको भन्दै प्रहरीले सवारी चालक विश्वकर्मालाई कारवाहीका लागि मुद्दा अघि बढाएको थियो । तर, उनी पक्राउ भने परेका थिएनन् ।

ट्राफिक प्रहरीले समयमा दुर्घटनामा सम्लग्न सवारी चालकको खोजी नगर्दा बोलेरो पिकअप चालक विश्वकर्माले नक्कली सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’ सम्म बनाउन भ्याए । सोही कागजातलाई आधार मान्दै निरौला परिवारले दर्ता गरेको मुद्दाको प्रतिउत्तर विश्वकर्माले फर्काए ।

बोलेरो पिकअप दुर्घटना हुँदाको मितिसम्म उनीसँग टेम्पोको मात्रै सवारी चालक अनुमति पत्र थियो । तर, जब उनले चलाएको बोलेरो पिकअप दुर्घटना भयो, त्यस पश्चात उनले ‘बी’ क्याटोगरीको चारचक्के साना सवारी चलाउन मिल्ने लाइसेन्स बनाए । तर, नक्कली । त्यही नक्कली कागजातलाई अदालतमा पेश गर्दै उनले निरौला परिवारले दर्ता गरेको मुद्दाको प्रतिउत्तर फर्काएको पाइएको छ ।

दुर्घटनामा सम्लग्न बोलेरो पिकअपका चालक विश्वकर्माले अदालतमा पेश गरेको सवारी चालक अनुमति पत्रमा यातायात कार्यालय दाङ ९राप्ती० ले ‘बी’ क्याटोगरी थपेको देखिन्छ । तर, यातायात कार्यालय दाङले विश्वकर्मालाई ‘बी’ क्याटोगरीको कुनै पनि लाइसेन्स नदिएको जनाएको छ ।

यातायात कार्यालय दाङका कार्यालय प्रमुख रमेश गौतमले २५ डिसेम्वर २०२१ मा सवारी चालक अनुमति पत्र दर्ता भई जारी भएको रसिदको सूची र मिति ३० डिसेम्वर २०२१मा सञ्चालन भएको वर्ग ‘बी’का लागि कुनै परीक्षा सञ्चालन नभएको जनाएका छन् । कार्यालय प्रमुख गौतमले सो दिन इमीएलभीचार एस मा पनि उक्त मितिको प्रयोगात्मक परीक्षाको चेकलिष्ट सूची नरहेको बताएका छन् ।

यातायात कार्यालय दाङका कार्यालय प्रमुख गौतमसँग मृतक निरौलाका छोरा भूवन निरौलाले सूचनाको हक प्रयोग गर्दै कार्यालयसंग लिखित जवाफ माग गरेका थिए । उनलाई उक्त कार्यालयले सो मितिमा विश्वकर्मालाई कुनै सवारी चालक अनुमति–पत्र नदिएको उल्लेख गर्दै पत्र पठाएसँगै उनले गरेको किर्ते धन्दा बाहिरिएको हो । अझ रोचक कुरा त के छ भने विश्वकर्माले अदालतमा पेश गरेको लाइसेन्स शनिवार जारी भएको देखिन्छ । यो दिन क्रिसमस डे समेत परेको छ ।

मृतक निरौला गरामनी माविका शिक्षक हुन् । उनका छोरा भूवनले विशवकर्माले किर्ते काजगात बनाएर उन्मुक्ति लिन खोजेको बताएका छन् । अदालतलाई नै गुमराहमा राखेर उनले किर्ते काजगात पेश गरेर उन्मुक्ति लिन खोजेको भन्दै उनले लिएको लाइसेन्स समेत नक्कली रहेकाले किर्ते मुद्दामा कारवाही अघि बढाउन माग गरेका छन् । प्रहरीले समयमा दोषीलाई पक्राउ नगर्दा निर्दोषले समेत दुःख पाएको भन्दै मुद्दा हेर्ने प्रहरीलाई समेत गम्भीर बन्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार