रास्वपाले माग्यो गाउँपालिकासँग योजना पुस्तिका

झापा । राष्ट्रिय स्व॒तन्त्र पार्टीले कचनकवल गाउँपालिकासँग योजना पुस्तिका माग गरेको छ । रास्वपा गाउँ कमिटि कचनकवलका संयोजक नीरज दाहालले आइतबार गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईलाई लिखित रुपमा निवेदन पेस गर्दै प्रमाणित योजना पुस्तिका माग गरेका हुन् ।
यस गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रम प्रस्तुत भएको दुई महिना बितिसक्दा पनि गाउँपालिकाले कार्यालय सञ्चालन तथा योजना कार्यान्वयनमा उदासीनता देखाई जनतालाई गुम्राहमा राखी प्रमाणित भएको योजना पुस्तक त्यस कार्यालयको वेबसाइटमा समेत नदेखिएकोले उक्त प्रमाणित योजना पुस्तक उपलब्ध गराइदिन भनी बुझाइएको निवेदनमा उल्लेख छ ।
साथै यसअघि रास्वपाले गाउँपालिकालाई बुझाएको विवरण हालसम्म उपलब्ध नगराएको हुँदा गाउँपालिकाले निजी करार शिक्षक नियुक्तिका क्रममा गरेका कार्यहरूको कारबाही प्रगति विवरण, शिक्षक सरुवामा रकम लेनदेन विषय तथा गाउँपालिकाले नियुक्त तथा पदस्थापन गरेको रोजगार सहायक पदका धनेश राजवंशीले आवेदनको क्रममा पेस गरेको फर्जी विवरण प्रकरणमा भए गरेको कारबाही सम्बन्धमा भएको प्रगति लिखत रुपमा सार्वजनिक गरिदिन हार्दिक हुन पनि निवेदनमा भनिएको छ । गाउँपालिकामा चालु आर्थिक वर्षको खाता सञ्चालन नहुँदा जनप्रतिनिधि र कर्मचारीले दुई महिनादेखि तलब नपाएको जनाइएको छ ।