२०८० आश्विन ९ गते , मंगलबार

बेलायतमा नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रिमियर

sajilo news
काठमाडौं
२०८० भाद्र २६ गते , मंगलबार
बेलायतमा नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रिमियर

चलचित्र ‘गोर्खा वारिअर’लाई बेलायतमा रेडकार्पेट प्रिमियर गरिएको छ । स्थानीय लेस्टर स्क्वायरस्थित आइम्याक्स सिनेवल्र्डमा आयोजित समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । बेलायतस्थित नेपाली डायस्पोराको खचाखच रहेको समारोहमा गोर्खा भेट्रानहरूलाई सम्मान गरियो ।

निर्देशक मिलन चाम्ससहित चलचित्रका कलाकारहरू रितेश चाम्स र रेविका गुरुङ प्रिमियरमा सहभागी भएका थिए। कार्यक्रममा सहभागी हुन योगेश्वर अमात्य, धीरेन शाक्य, सन्तोष सेन, प्रेम पुरी, ज्योति राई, जनकदीप पराजुलीसहित पत्रकारहरू लण्डन पुगेका थिए। चलचित्रमा बेलायती सेनाको गोर्खा बटालियनले दोस्रो विश्वयुद्धको क्रममा मलायामा लडेको बहादुरीपूर्ण लडाइँको कथा छ ।

यो चलचित्रलाई आगामी फागुन वा चैतमा नेपालसहित विश्वव्यापी रूपमा रिलिज गर्ने लक्ष्य रहेको निर्माता निर्देशक चाम्सले जानकारी गराए । चलचित्रमा रितेश र रेविकासँगै विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारहरूको मुख्य भूमिका छ । नेपाली, अंग्रेजी र हिन्दी भाषामा यो चलचित्र प्रदर्शन हुनेछ।

चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । चलचित्रमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।

लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा रहेका छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई रहेका छन् ।
 

सम्बन्धित समाचार