२०८१ श्रावण ३ गते , विहीबार

एमाले झापाको प्रचार भेला सम्पन्न

sajilo news
झापा
२०८० भाद्र १९ गते , मंगलबार
एमाले झापाको प्रचार भेला सम्पन्न

बिर्तामोड । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् झापा इन्चार्ज विशाल भट्टराईले दृष्टिकोण नभएका दलहरू बिस्तारै कमजोर भएर जाने बताएका छन् । उनले कतिपय दलहरू दृष्टिकोण नभएकै कारण कमजोर हुँदै गएको बताए ।

प्रचार तथा प्रकाशन विभागले आज बिर्तामोडमा आयोजना गरेको जिल्लास्तरीय प्रचार भेलामा बोल्दै उनले एमाले विरुद्ध जस्तोसुकै षडयन्त्र रचिए पनि दृष्टिकोण नभएका दलहरूले गरेको षडयन्त्र सफल नहुने बताए । उनले एमाले जनताको सर्वाधिक रुचाइएको पार्टी र जनताको भरोसाको पार्टी भएकाले सबै खाले एमाले विरोधी गतिविधि असफल हुने ठोकुवा गरे ।

झापाका अगुवा पत्रकारहरूको सहभागिता रहेको भेलामा इन्चार्ज भट्टराईले एमाले विरुद्धको षडयन्त्र तोड्न एकताबद्ध ढङ्गबाट प्रतिकार गर्नुपर्ने बताए । उनले भने, एमालेले गल्ती गरेको अवस्थामा जोगाउनु पर्दैन, तर षडयन्त्रको सशक्त प्रतिकार गर्न तयार बन्नुहोस् ।

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको फाइल खोल्ने धम्की दिदैं एमालेको मुद्दा खोजिरहेको उनको भनाई थियो । सरकारको अहिलेको गतिविधि भ्रष्टाचार विरुद्धको अभियान होइन, एमालेलाई सिद्ध्याउन पाइन्छ कि भन्ने अभियान मात्रै हो । तर, एमाले कहिकतै चुकेको छैन, चुक्दैन । एमाले संस्थागत रुपमा भ्रष्टाचार विरुद्ध उभिएको पार्टी भएको उनको भनाई छ ।

सबै खाले प्रतिकुलता विरुद्ध एमाले लड्न सक्षम भएको भन्दै उनले जनताको बीचमा एमाले विरुद्ध भ्रम मात्रै छर्ने प्रयास भएको बताए । एमालेको लोकप्रियतामाथि भ्रम छरेर जनमत बिगार्ने प्रयास सफल नहुने उनको भनाई छ । प्रचार भेलालाई सम्बोधन गर्दै उनले पुराना पार्टीको भविष्य छैन भन्दै भाष्य निर्माण गरिएकोमा सचेत हुन आग्रह गरेका छन् । नेता भट्टराईले पुराना पार्टीहरूको विरोध गर्नेहरूको चिन्तन तोड्नुपर्ने सुझाव दिए । नयाँ पार्टीको लोकप्रियता सधैँ कायम नहुने भन्दै उनले सही र गलत छुट्टाएर प्रचार गर्न सुझाव दिए ।

प्रचार भेलाका प्रमुख अतिथि भट्टराईले सामाजिक सञ्जालको भरपुर मात्रामा प्रयोग गरेर प्रचारप्रसारलाई जनताको माझमा पुराउन सकिने बताए । उनले सञ्जालको सकारात्मक प्रयोग अहिलेको आवश्यकता भएको बताउँदै एमालेका तल्लो तहमा आबद्ध कार्यकर्ताहरूले समेत ध्यान दिन आग्रह गरे । भेलामा पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले जिल्लाको प्रचारप्रसारलाई व्यवस्थित गर्दै जाने प्रतिबद्धता जनाए । उनले पालिका तहमा प्रचार विभाग व्यवस्थापन गरेर पार्टीको प्रचार व्यवस्थित गर्ने बताएका हुन् ।

प्रेस चौतारीका कोशी प्रदेश इन्चार्ज गणेश पोखरेल, पार्टीका उपाध्यक्ष प्रेम गिरी, सचिव शिव ढुङ्गेलसहित कार्यक्रममा प्रेस चौतारी र प्रचार विभागमा आबद्ध सदस्यहरूले प्रभावकारी प्रचार प्रसार र सामाजिक सञ्जालको प्रयोगका बारेमा सुझाव दिएको विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिए । 

सम्बन्धित समाचार