कनकाईमा काँग्रेसको नगर सम्मेलन सम्पन्न

बिर्तामोड । नेपाली काँग्रेस कनकाई नगर समितिको नगर सम्मेलन सम्पन्न भएको छ । नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबेले सम्मेलनको उद्घाटन गर्दै नेपालमा राजनीतिक परिवर्तन भइसकेकाले अब जनताको जीवनस्तर परिवर्तनका लागि कार्य गर्नुपर्नेमा जोड दिए ।
पार्टी संगठनलाई क्रियाशील बनाउन जिल्लाका सबै वडा तहमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य एवं महाधिवेशन प्रतिनिधिहरूलाई जिम्मेवारी दिएर पठाइएको बताउँदै विकास निर्माण एवं जनजीविकाका सवालमा उदाहरणीय कार्य गर्न कार्यकर्ताहरूलाई उनले आग्रह गरेका छन् ।
नगर सभापति दुर्गाप्रसाद प्रसाईँले नगरले हालसम्म गरेका काम एवं आगामी योजना समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै कनकाईमा कार्यसमिति विस्तार गरिएको, पार्टीका भातृ तथा शुभेच्छुक संघसंस्था गठन, संगठन विभाग गठन, विकास निर्माणको अनुगमन र खबरदारी गरिएको उल्लेख गरे ।
प्रशिक्षण विभाग, सूचना तथा प्रचार–प्रसार, कार्यक्रम तथा अभिलेख समिति विस्तार गरिएको जानकारी दिँदै अध्यक्ष प्रसाईँले प्रशिक्षण कार्यक्रम सञ्चालन, वडा परिचालन एवं ५४ वटा टोल समिति गठन, प्रतिकूल परिस्थितिमा परेका कार्यकर्ता एवं नागरिकलाई सहयोग, विपद्मा परेकालाई उद्धार, राहत लगायतका कार्यक्रम सञ्चालन गरिएको बताए । हालसम्म भएका खर्चको विवरणसहितको प्रतिवेदनमा आगामी योजना समेत समेटिएको छ ।
कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरू राम गिरी, रमेशचन्द्र दाहाल, रामबाबु महर्जन, अन्नप्रसाद राजवंशी, दलबहादुर कुँवर, इन्द्रबहादुर थापा, लक्ष्मी शिवाकोटी लगायतलाई सम्मान गरिएको थियो ।
नगर सम्मेलनमा नेपाली काँग्रेस कोशी प्रदेश समिति सदस्य रञ्जिता कार्की, झापाका उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाईँ, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, जिल्ला प्रतिनिधि पर्शुराम ढुङ्गाना, शिव कँडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि भीम राजवंशी, एकराज उप्रेती, धनमाया चिमरिया, कविता बस्नेत, सिता थेबे, जिल्ला सदस्य कुमारमणि पोखरेल, लीला चिमरिया, गोविन्द प्रधान, खगेन्द्र प्रसाईँ, झुमा बेडारी, कनकाई नगरपालिकाका उपमेयर आशा शर्मा शिवाकोटी लगायतको आतिथ्य रहेको थियो ।
नगर सभापति प्रसाईँको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सन्तोष रायमाझी र सञ्चालन रेणुप्रसाद कँडेलले गरेका थिए ।