२०८१ बैशाख ३ गते , सोमबार

झापामा अखाद्य आइसक्रिम र कुल्फी बजारमा छ्यापछ्याप्ती, बालबालिकाको स्वास्थ्यमाथि खेलबाड

sajilo news
पार्थ मण्डल
२०८० भाद्र १० गते , आईतबार
झापामा अखाद्य आइसक्रिम र कुल्फी बजारमा छ्यापछ्याप्ती, बालबालिकाको स्वास्थ्यमाथि खेलबाड

झापा । बालबालिका र किशोरकिशोरीले गर्मी मौसममा बाहिरी खानेकुरामा सबैभन्दा बढी रुचाउने भनेकै आइसक्रिम हो । आइसक्रिम भनेपछि उनीहरूसँगै महिलाहरू पनि मरिहत्ते नै गर्छन् । 

तर, बजारमा कस्तो आइसक्रिम बिक्री वितरण भइरहेको छ भन्ने बारेमा उनीहरू भने अनविज्ञ छन् । उद्योगहरूले जस्तो आइसक्रिम प्याकिङ गरी बजारमा पठाउँछ । पसलेहरूले पनि आफ्नो जिम्मेवारी र कर्तव्य भुलेर त्यही आइसक्रिम उपभोक्तालाई बेचबिखन गरिरहेका छन् । 

अहिले झापाका बजारमा पाइने अधिकांश कम्पनीका आइसक्रिम उत्पादन मिति उल्लेख नगरी बजारमा बिक्री वितरणका लागि पठाउने गरेको पाइएको छ । उत्पादन मिति नलेखेर आइसक्रिम कम्पनीहरूले बालबालिका र किशोरकिशोरीको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको बजार अनुगमनको क्रममा भेटिएको छ । 

जिल्लाको सदरमुकाम भद्रपुर बजारको अनुगमन गर्दा कनकाई नगरपालिका– ३ स्थित श्री विद्यावाशिनी आइस उद्योग सुरुङगाबाट उत्पादित गज्जबको नामक आइसक्रिम र कुल्फी, अर्जुनधारा नगरपालिका– ६ स्थित कामख्या आइसक्रिम उद्योग, बिर्तामोडस्थित मनकामना आइसक्रिम उद्योग, मेचीनगर धाइजनस्थित ऋतिका डेरी उद्योगबाट उत्पादित पञ्चामृत ओरेन्ज बार कुल्फी, भेनिला आइसक्रिम, बिर्तामोड– ४ स्थित तपस्या कुल्फी तथा आइसक्रिम उद्योगको ओरेन्ज वार कुल्फी आइसक्रिम लगायत भारतीय कम्पनीका आइसक्रिम र कुल्फीको प्याकेटमा न त मुल्य उल्लेख छ, न त उत्पादन र उपभोग्य समाप्त मिति नै लेखिएको छ । कतिपय कम्पनीका आइसक्रिम तथा कुल्फीको प्याकेटमाथि स्टिकर टाँस गरी बिक्रीका लागि बजारमा पठाएको समेत फेला परेको भद्रपुर नगर बजार अनुगमन समितिका संयोजक तथा उपप्रमुख राधा कार्कीले बताइन् ।    

सुरुङगाबाट उत्पादित गज्जबको नामक आइसक्रिम र कुल्फीको उत्पादन मिति जनवरी २०२३ र उपभोग्य मिति २०२३ जुलाई उल्लेख थियो । अहिले अगस्ट महिना चलिरहेको छ । त्यस्तै गज्जबको नामक चोको वारमा न मुल्य लेखिएको छ, न उत्पादन र उपभोग्य मिति नै । सो आइसक्रिम चन्द्रगढीको प्रसाईँ फ्रुट्स एन्ड भेराइडिज पसलबाट फेला परेको थियो । फेला परेको आइसक्रिम, कुल्फी, चोकोवार, कुरकुरे लगायतको सामान अनुगमन टोलीले जफत गरेका थिए । 

भद्रपुर ४ स्थित मन्त्रीचोकको एक किराना पसलबाट कामख्या आइसक्रिमको प्याकेटमा उत्पादन र उपभोग्य मिति उल्लेख नगरिएको साथै त्यसलाई ढाकछोप गर्न उद्योगले रि प्याकिङ गरी माथिबाट स्टिकर टाँसेर पुनः बिक्री लागि पठाएको पाइयो । जुन एक महिना अघि नै उपभोग्य मिति सकिसकेको थियो । भद्रपुर ९ का विभिन्न पसलमा बेच्न राखिएको मनकामना आइसक्रिम, पञ्चामृत ओरेन्ज बार कुल्फी, भेनिला आइसक्रिम, तपस्या कुल्फी तथा आइसक्रिममा पनि त्यस्तै बेथिति देखियो । मनकामना आइसक्रिमले आफ्नो उत्पादनको प्याकेजिङमा माथिबाट स्टिकर टाँस गरेको, पञ्चामृत र तपस्याको कुल्फीमा उत्पादन मिति, मुल्य, उपभोग्य समिति उल्लेख नगरेको नगर उपप्रमुख कार्कीले बताइन् । चन्द्रगढीस्थित एनएमसी सहकारी पसलबाट भारतको अहमदवादबाट उत्पादित भाँडीलाल आइसक्रिममा पनि उत्पादन मिति नै लेखिएको थियो । उपभोग्य समिति १२ महिना मात्र लेखिएको थियो । बनेकै मिति नलेखिएपछि सो आइसक्रिमको बट्टाहरू अनुगमन टोलीले जफत गरेको थियो । 

बजारमा खान अयोग्य अखाद्य वस्तु अत्यधिक मात्रामा फेला परेको बताउँदै उपप्रमुख कार्कीले भनिन्, ‘बच्चाले खाने आइसक्रिम तथा कुल्फीको त कुरै नगरुम, फ्रिजमा हालेर बेच्ने भएकोले बच्चा र तिनका अभिभावकहरू त्यो अखाद्य हो भनेर थाहा नै पाउँदैनन् ।’ 

‘अधिकांश कम्पनीका आइसक्रिम, कुल्फी, खट्टीमिठ्ठीमा उत्पादनसँगै उपभोग्य समिति पनि लेखिएको छैन, जुन स्वास्थ्यका लागि एकदमै हानिकारक छ,’ उनले थपिन् । ‘त्यस्ता आइसक्रिम खाएका बच्चाहरूमा एपेन्डिस हुने, झाडापखाला लाग्ने, निमोनिया जस्ता रोग लाग्ने गरेको अस्पतालहरूमा जाँदा भेटिन्छ,’ उनले भनिन् । 

कम्पनीको लेविल, उत्पादन  र उपभोग्य मिति हेरेर मात्र बिक्री गर्न अनुगमनका क्रममा पसल सञ्चालकहरूलाई निर्देशन समेत दिएको उनको भनाई छ ।  बजारमा बिक्री हुने चुक (अमिलो पदार्थ) पनि हामीले जफत गरेका छौँ । ‘चटपटी र पानी पुरीमा बढी मात्रामा प्रयोग हुने चुक महिलाको स्वास्थ्यमा गम्भीर असर पुर्याउँदै आएको छ,’ उनले भनिन्, ‘चुक जस्तो अमिलो पदार्थ बिक्री नगर्न पसलहरूलाई सचेत गराएका छौँ ।’ 

त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नारायणप्रसाद भट्टराईका अनुसार बजारमा फेला परेको आइसक्रिम र कुल्फीमा खाद्य ऐन अनुसार लेबल नभएको, उत्पादन मिति, उपभोग्य मिति, ब्याच नम्बर र सम्मिश्रण नदेखिएको त्यस्ता वस्तुहरू बजारबाट जफत गरिएको बताए । 

जिल्लामा रहेका आइसक्रिम कम्पनीहरूलाई पटक पटक सचेत गराउने काम गर्दै आइरहेको बताउँदै खाद्य अनुसन्धान अधिकृत भट्टराईले भने, ‘प्याकिङ गरी बजारमा पठाउने खानेकुरामा अनिवार्य रुपमा खाद्य ऐनले तोकिए अनुसार सबै कुरा उल्लेख हुनुपर्छ ।’ गत वर्ष आइसक्रिम उद्योगहरू अनुगमन गरिएको थियो । यस वर्ष अनुगमन गर्न बाँकी छ । ‘अब छ्ट्टिै ती उद्योगहरूको अनुगमन गर्ने र अनुगमनको क्रममा त्यस्ता त्रुटि फेला परे कानुन बमोजिम ठाउँका ठाउँ कारबाही गर्छौँ,’ उनले भने । 

गत साउन १५ गते मनकामना आइसक्रिमभित्र उपभोक्ताले झिँगा फेला पारेका थिए । बिर्तामोड २ बेलडाँगीका गोविन्द गिरीले प्याकेट खोलेर खाँदै गर्दा आइसक्रिमभित्र मरेको ठुलो झिँगा भेट्टाएको थियो ।    

सम्बन्धित समाचार