एमसीसी सम्झौता कार्यान्वयनविरुद्ध झापामा 'विप्लव' नेकपाको प्रदर्शन
झापा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले एमसीसी सम्झौता कार्यान्वयनविरुद्ध झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरेका छ । व्याख्यात्मक टिप्पणीका नाममा राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गरेर नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार गरेको र अहिले कार्यान्वयन गर्न लागि परेको भन्दै विरुद्ध प्रदर्शन गरेको हो । झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेसनबाट जुलुससहित शुरु भएको विरोध प्रदर्शन मुक्ति चौक इलाम स्टेसन हुँदै पुनः मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियो । विरोध सभाको सञ्चालन पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय सीले गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले सम्बोधन गरेका थिए ।
सभालाई सम्बोधन गर्दै सत्ताधारी दलहरूलाई राष्ट्रघाती एमसीसी सम्झौता कुनै हालतमा कार्यान्वयन नगर्न चेतावनी दिए । देशको सीमा अतिक्रमण, संसदीय पुँजीवादी राज्यसत्ताको समस्या भएको भन्दै यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने दाबी गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने उनले बताए ।
एमसीसी विरुद्धको आन्दोलन नेपालको स्वाधीनता रक्षाका लागि भएको बताउँदै उनले कुनै पनि हालतमा एमसीसी कार्यान्वयन गर्न नदिने उद्घोष गरे । विरोध सभामा बोल्दै उनले सम्पूर्ण जनता एमसिसीको विरुद्धमा रहेकाले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न र यसको विरुद्ध हरेक जनताले घरघरबाट हतियार लिएर अमेरिकी साम्राज्यवाद विरुद्ध निस्कनुपर्ने बताए ।
एमसीसी सम्झौता नेपालको हितविपरित भएको भन्दै यसलाई सिधै खारेज गर्नुपर्ने र एमसीसीमार्फत् नेपाली जनतामाथि अमेरिकी बन्दुक लादिन खोजेको भन्दै आवश्यक परे यसका विरुद्ध बलिदान दिन तयार हुनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर ! , राष्ट्रघाती दलालहरू होसियार, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ ! लगायतका नारा लगाइएको थियो ।