कोसी प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा पाण्डे निर्वाचित
कोसी प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा सर्वजित् पाण्डे निर्वाचित भएका छन । झापाको काँकडभिट्टामा सोमबार राती भएको सङ्घको दोस्रो अधिवेशनबाट विराटनगर निवासी पाण्डेले अर्का अध्यक्षका प्रत्याशी सुनसरी इनरुवाका विप्लव घोषलाई ६ मतले पराजित गर्दै निर्वाचित भएका हुन । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका पाण्डेले १९ मत प्राप्त गर्दा घोषले १३ भोट मात्र ल्याए । उपाध्यक्षमा उदयपुरका अनुप ढुङ्गाना १८ मतले विजयी भएका छन् । उनले झापाका प्रवीण थापालाई ४ मतले पराजित गरे ।
सचिवमा इलामका टिकाराम पुरीले इलामकै अर्जुन पौडेललाई पराजित गर्दै निर्वाचित भएका छन् । पुरीले १८ मत ल्याउँदा पौडेलले १४ मत मात्र प्राप्त गरे । कोषाध्यक्षमा झापाका बिरु श्रेष्ठले सुनसरीका चेतनाथ पौडेल सिपीलाई ५ मतले हराउँदै निर्वाचित भएका छन् । श्रेष्ठले १९ मत ल्याउँदा पौडेलले १३ मत मात्र ल्याउन सके ।
कार्यसमितिको सदस्यहरूमा झापाका सुरेश गुरागाईँ, सचित आनन्द सुब्बा, नारद नेपाल, सुनसरीका सुमेश कुमार हलुवाई, शिवकुमार यादव, ताप्लेजुङका मिङ्मा डन्डु शेर्पा, विराटनगरका नवीन घिमिरे, अम्बिका बुढाथोकी र उदयपुरका रामकृष्ण आचार्य निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष पाण्डेले क्रिकेटको उर्वर भूमि कोसी प्रदेशको क्रिकेटलाई माथि उकास्ने गरी काम गर्ने बताए ।