डान्स युनिभर्समा खुशी र मेरो भ्वाइसमा प्रितमले जिते एक/एक करोड
इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को उपाधि क्रमशः सिक्किमका प्रीतम राई र थाइल्यान्डकी खुसी कार्कीले जितेका छन् ।
उपाधि जितेसँगै दुवै जनाले नगद रु एक/एक करोड प्राप्त गरेका छन्। शनिवार राति सम्पन्न ग्रान्ड फिनालेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई पुरस्कार प्रदान गरेका थिए।
यो नेपालकै सबैभन्दा ठूलो धनराशिको रियालिटी शो हो । फाउन्डेसनले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर रियालिटी शो आयोजना गरेको हो ।
फिनालेमा प्रधानमन्त्री प्रचण्डले यस्ता कार्यक्रमले नेपाली भाषा, संस्कृति संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने बताए । कार्यक्रममा सभामुख देवराज घिमिरेलगायत नेपाल सरकारका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।