५० हजार मेट्रिक टन चिनी खरिदको तयारी
काठमाडौं । सरकारले चिनीको भाउमा देखिएको अनियमितता र मनलाग्दी रूपमा कायम गरिएको मूल्य नियन्त्रण गर्न चिनी खरिदको तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिलेको मूल्य र नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर ५० हजार मेट्रिक टन चिनी खरिद गर्ने तयारी गरेको हो । सरकारले नेपाल र भारतीय सरकारबिच (जिटुजी) मार्फत समझदारी गरेर चिनी खरिद गर्ने गरी तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार सरकारले ५० हजार मेट्रिक टन चिनी खरिदका लागि तयारी गरेको छ ।
व्यापारीहरूले नेपालमा उत्पादित चिनी सकिएको र भारतलगायतका अन्य देशबाट आयात हुने चिनीमा लाग्दै आएको ४० प्रतिशत अतिरिक्त भन्सार महसुल र बढेको ढुवानी भाडा तिरेर नेपालमा उत्पादित चिनीको दरमा बिक्री गर्न नसक्ने भन्दै मूल्य बढाउन परेको दाबी गर्दै आएका छन् । बजारमा अहिले चिनीको थोक मूल्य प्रतिकेजी ९९ रुपियाँ र खुद्रा मूल्य १०५ देखि ११० रुपियाँमा कारोबार भइरहेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार विगत १५ दिनयता चिनीको भाउ थोकमै प्रतिकेजी ९९ रुपियाँ पुगेको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले चिनी उद्योगीले बजारमा चिनीको अभाव देखाएर अझै बढाउन चलखेल हुन सक्ने भएकाले छिटो चिनी खरिद गर्नुपर्ने आवश्यकता औलाए । सरकारी तहबाट चिनी खरिद भएमा हाल व्यापारीले चिनीमा जुन मनोमानी गरिरहेका छन्, त्यो पनि अन्त्य हुने र चिनीको भाउ पनि सस्तो हुने उनको भनाइ छ । आजको गोरखापत्रमा यो खबर छ ।