झापा कारागार : चौकीदार बन्ने आपसी द्वन्द्वले हुलदङ्गा, सरुवा अघि चौकीदार नै परेका थिए कारबाहीमा

झापा । आन्तरिक प्रशासन चलाउने चौकीदार समूहबीचको चलखेल र मनमुटाबले निम्ताएको आपसी द्वन्द्वका कारण गत शुक्रबार हुलदङ्गा हुँदा झापा कारागार अशान्त बनेको थियो ।
भद्रपुरस्थित जिल्ला कारागारका प्रशासन पक्षले आइतबार दिउँसो वाहालवाला चौकीदार लयप्रसाद शिवाकोटी र पूर्वभाइ चौकीदार पासाङ शेर्पा (कुमार) लाई त्यहाँबाट अन्यत्र सरुवा गरेसँगै कैदीबन्दीबीचको चलखेल र मनमुटाबले निम्ताएको आपसी द्वन्द्व छर्लङ्ग भएको हो ।
शुक्रबार दिउँसो साढे २ बजे कारागारभित्र भएको आगजनी र ढुंगामुढाका घटना केवल आफ्नो पक्षका कैदीबन्दीलाई चौकीदार बनाउने एउटा योजना मात्र थियो ।
आन्तरिक प्रशासन चलाउने चौकीदार (नाइके) समूहबीच नै गुटबन्दी हुँदा वाहालवाला चौकीदार शिवाकोटी अन्ततः त्यहाँबाट सरुवा भएर झुम्का कारागार सुनसरी जानुपर्ने स्थिति बन्यो ।
कारागार व्यवस्था विभागको आदेश बमोजिम चौकीदार शिवाकोटीलाई झुम्का र शेर्पालाई केन्द्रीय कारागार काठमाडौँ पठाइएको कारागारका प्रमुख तथा जेलर मोहनलाल पनेरुले जानकारी दिए ।
‘उनीहरूको सरुवाको लागि विभागले आजै पत्र पठाएको थियो,’ जलेर पनेरुले भने, ‘पत्र आएसँगै दुवैलाई आइतबार दिउँसो यहाँबाट रवाना गरियो ।’
विभागको पत्र बमोजिम कारागार प्रशासनले भाइ चौकीदार मनोज लावतीलाई हतकडी लगाएर शुक्रबार दिउँसो करिब २ बजे झुम्का कारागार पठाउन लागेका थिए । भाई चौकीदार लावतीलाई यहाँबाट अन्यत्र पठाउन लागेको जानकारी पाउन साथ उनका पक्षका कैदीबन्दीहरु एक्कासि आन्दोलित बन्दा कारागार परिसर रणभूमिमै परिणत भएको थियो ।
तत्काल घटनास्थलमा ठुलो सङ्ख्यामा सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिएको थियो । प्रहरीले उत्तेजित घटनालाई साम्य बनाउन सात राउन्ड गोली र पाँच राउन्ड टेयर ग्यास हवाई फाइरिङ समेत गरेका थिए । घटना स्थितिभन्दा बाहिर जान लागेपछि लावतीलाई कारागारभित्र पुनः जान आदेश दिएपछि मात्र कैदीबन्दीको आन्दोलन शान्त भएको थियो ।
आन्दोलनपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कैदीबन्दीसँग वार्ता गरेका थिए । चौकीदार शिवाकोटी र शेर्पालाई तत्काल यहाँबाट सरुवा गर्नुपर्ने उनीहरूले प्रजिअ पोखरेलले समक्ष माग राखेका थिए । सोही माग बमोजिम विभागले उनीहरूको सरुवाका लागि पत्र पठाएको जेलर पनेरुले बताए । अहिले कारागार प्रशासनले कसैलाई चौकीदारमा नियुक्त गरेको छैन । चौकीदार बिनै कारागार चलिरहेको छ ।
कैदीबन्दीहरु करिब डेढ घण्टा आन्दोलित बन्दा परिसर बाहिर तैनाथ प्रहरी र कर्मचारीलाई लक्षित गरी ढुङ्गा र इँटा बर्साएका थिए । कैदीबन्दीको ढुङ्गा र इँटा प्रहारले कारागारमा ठुलो क्षति भएको जेलर पनेरुको भनाई छ । कैदीबन्दीले भित्रबाट ढुङ्गा र इँटा बर्साउँदा कारागारको नवनिर्मित कार्यालयको भवन, सिसाको झ्याल ढोका, कैदी बोक्ने र जलेर चढ्ने गाडी, बिजुलीका सामग्री, सिसी टिभी क्यामेरामा क्षति पुगेको उनले बताए ।
चौकीदारलाई दिएका थिए सजाय
कारागार प्रशासन पक्षसँग मिलेर भाई चौकीदार मनोज लावतीलाई सरुवा गर्न लागेको आरोप लगाउँदै लावती पक्षले चौकीदार लयप्रसाद शिवाकोटीलाई कारागारभित्र २४ घण्टा बढी सजाय दिएको थियो ।
शुक्रबार भएको घटना पश्चात् कारागारभित्र प्रवेश गरेसँगै चौकीदार शिवाकोटीलाई सजाय दिइएको कारागार स्रोतले जनाएको छ । तै होइन, लावतीलाई यहाँबाट सरुवा गरेर पुनः चौकीदार बन्न खोज्ने भन्दै शिवाकोटीलाई सजाय दिएको स्रोतको भनाई छ ।
लावती पक्षले चौकीदार लावतीलाई खाटमुनि राखेर सजाय दिएका थिए । उनलाई शुक्रबार बेलुकादेखि शनिबार दिनभरि खाटमुनि राखेका थिए ।
उनीलाई कोठाबाट बाहिर पनि निस्किन दिइएन । घटना हुनुभन्दा केहीदिन अघिदेखि नै सोही पक्षले पूर्व भाई चौकीदार पासाङ शेर्पालाई पनि खाटमुनि राखेर निरन्तर सजाय दिँदै आएका थिए । उनीहरूले गुटबन्दी गरेको आरोप लगाउँदै शेर्पालाई लामो समय खाटमुनि राखेर सजाय दिइएको स्रोतको दाबी छ । शेर्पा पूर्व भाई चौकीदार थिए । करिब तीन महिनाअघि उनको पद खोसेर त्यहाँ आम कैदीसरह बनाएर राखेका थिए । उनको ठाउँमा भाई चौकीदार विकास लिम्बुलाई बनाएका थिए । लावती पक्षकाले सजाय दिन थालेपछि शिवाकोटी र शेर्पाले ज्यान जोगाउनका लागि पनि यहाँबाट सरुवा गरेर अन्यत्र पठाइयो भनेर जेलर समक्ष हारगुहार गरेको बताइएको छ ।