अलैंची निर्यात ८६ प्रतिशतले बढ्यो
काठमाडौँ । नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैँची पनि पर्छ । भखरै सकिएको आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले विश्वका विभिन्न मुलुकमा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्यको ९ हजार ९९१ मेट्रिक टनभन्दा केही बढी अलैँची निर्यात गरेको अभिलेख भन्सार विभागसँग छ ।
आव २०७९/८० को निर्यात अघिल्लो वर्षको तुलनामा मूल्यका हिसाबले ७१ दशमलव ९५ र परिमाणका हिसाबले ८६ दशमलव १५ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८ / ८९ मा नेपालबाट ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ मूल्यको ५ हजार ३६७ मेट्रिक टन अलैँची निर्यात भएको देखिन्छ । अचम्मको सत्य चाहिँ नेपालबाट निकासी हुने अलैँचीको शतप्रतिशत जस्तो भारत जान्छ ।
गत आर्थिक वर्षमा निकासी भएको अलैँचीको ९९ दशमलव ५५ प्रतिशत अंश भारत गएको देखिन्छ । गत वर्ष भारतमा ८ अर्ब २५ करोड ५९ लाख रुपैयाँ मूल्यको ९ हजार ९४६ मेट्रिक टन अलैँची निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।