नमोबुद्धले महिला गोल्डकपको पुरस्कार अझै पाएन, क्लबले पैसा उठाइदिन हारगुहार गर्दै
बिर्तामोड । झापाको बिर्तामोड– १० सैनिकबजारमा सम्पन्न प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको उपाधि विजेता नमोबुद्ध युवा क्लब सप्तरीले तीन महिना बित्न लाग्दासमेत पुरस्कारबापतको रकम अझै पाएको छैन । आयोजक अल इन वान क्लबका अध्यक्षले धेरै पटक ढाटेको भन्दै नमोबुद्ध युवा क्लबले पैसा उठाइदिन विभिन्न निकायलाई गुहार्दै आएपनि कसैले सहयोग गर्न सकेका छैनन् ।
नमोबुद्धका अध्यक्ष सुरेश लामाले गत जेठ १० गते झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामालाई लिखित पत्र पठाएर आग्रह गरेका थिए । त्यसपछि उनले बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला , बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङलगायतलाई पटक पटक फोन गरी पैसा असुल गरिदिन आग्रह गरेका थिए । तर, कसैले पनि पैसा उठाइदिन पहल नगरेको भन्दै अध्यक्ष लामा यतिखेर आक्रोशित भएका छन् ।
आयोजक अल इन वान क्लबका अध्यक्ष कृष्ण योञ्जनले ढाँटेर दुख दिइरहँदा झापामा कसैले पनि आफूहरूलाई सहयोग नगरेको लामाले गुनासो गरे । ‘ सप्तरीदेखि झापा धाउँदा धाउँदा करिब एक लाख रुपैयाँ खर्च भइसक्यो ’उनले भने,‘झापा फुटबल संघलाई गुहार्यौ, उपप्रमुख र वडाध्यक्षलाई पनि भन्यौँ, अरूलाई पनि फोन गर्यौँ, कतैबाट सहयोग पाएनौँ ।’ उनले आफूहरू ठगिएको विषयमा मिडियाले पनि साथ नदिएको आक्रोश व्यक्त गरे । गत बैशाख १६ गते बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको खेलमैदानमा भएको फाइनल खेलमा आयोजक अल इन वान क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि जितेको थियो ।
प्रतियोगिताको विजेतालाई नगद २ लाख २ हजार तथा उपविजेतालाई १ लाख १ हजार नगद पुरस्कार तोकिएको थियो । आफूहरूले पहिलो पुरस्कार २ लाख २ हजारमध्ये कुनै पनि रकम नपाएको लामाले बताए ।
उनले पुरस्कारको राशि २ लाख २ हजार र यातायात खर्चबापतको २० हजार गरी पाउनु पर्ने २ लाख २२ हजार रुपैयाँ नपाएको जानकारी दिए । पुरस्कार नपाएको विषयमा नमोबुद्धका अध्यक्ष लामाले पटक पटक आफूलाई आग्रह गरेको बताउँदै उपप्रमुख सङ्ग्रौलाले त्यस विषयमा धेरै पटक अल इन वानका अध्यक्ष योञ्जनलाई भन्दा पनि बेवास्ता गरेको जानकारी दिए । उनले अध्यक्ष योञ्जनले पैसा नउठेको भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको प्रतिक्रिया दिए । त्यस्तै बिर्तामोड १० का वडाध्यक्ष गुरुङले आफूले पनि पुरस्कारको रकम दिन बारम्बार ताकेता गर्दै आएको बताए । उनले जिम्मेवारीबाट पन्छिन खोजे अल इन वानको दर्ता खारेज गर्ने चेतावनीसमेत दिएको सुनाए । झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामाले पनि त्यस विषयमा आयोजकलाई पटक पटक ध्यानाकर्षण गराउँदा चासो नलिएको बताए ।
पुरस्कारको रकम नदिएको विषयमा करिब १० दिनअघि पत्रकारले अल इन वानका अध्यक्ष योञ्जनलाई सोध्दा उनले पुरस्कारको रकम दिइसकेको भन्दै ढाटेका थिए । त्यस विषयमा आइतबार नमोबुद्धका अध्यक्ष लामालाई बुझ्दा उनले पुरस्कारको रकम अझै नपाएको जवाफ दिएका छन् । लामासँग गरिएको कुराकानीको रेकर्ड सुरक्षित छ । प्रतियोगिता सम्पन्न भएको तीन महिना बित्न लाग्दासमेत आम्दानी खर्चको विवरण अध्यक्षले सार्वजनिक नगरेको अल इन वानका उपाध्यक्ष दिवाकर खरेलले बताए ।
प्रतियोगिता सम्पन्न गर्न १४ लाख ४२ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको थियो । बिर्तामोड नगरपालिका १० नं वडा कार्यालयको तर्फबाट १ लाख रुपैयाँ सहयोग गरेको वडाध्यक्ष गुरुङले जानकारी दिए । त्यस्तै नगर खेलकुद विकास समिति बिर्तामोडले पनि सहयोग गरेको जनाइएको छ । यसअघि बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा २०७४ कात्तिकमा सञ्चालित ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ को विजेता तथा उपविजेतालाई पुरस्कारबापतको रकम अझै दिइएको छैन ।
जायोन स्पोर्ट्स क्लबले सो प्रतियोगिता आयोजना गरेको थियो । क्लबले २०७४कात्तिक १६ देखि २४ गतेसम्म आयोजना गरेको प्रतियोगितामा विजेता टिमलाई १२ लाख ५० हजार र उपविजेता टिमलाई ६ लाख २५ हजार रुपैयाँ पुरस्कार दिने बताएको थियो । पुरस्कार नपाएको विषयमा उपाधि विजेता आर्मीले अझैसम्म सार्वजनिक रुपमा सिकायत गर्दै आएको छ । प्रतियोगिता आयोजना गरेर पुरस्कारबापतको रकम नदिएर झापा जिल्लाकै बदनाम गर्नेहरूलाई निरुत्साहित गर्नुपर्ने बिर्तामोड १० का प्रभात मुखिया बताउँछन् ।