२०८३ बैशाख २४ गते , विहीबार

हेलिकोप्टरको पर्वतीय उडानमा रोक

sajilo news
पत्रपत्रिका
२०८० असार २९ गते , शुक्रबार
हेलिकोप्टरको पर्वतीय उडानमा रोक

काठमाडौँ । सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुन अवधिभरका लागि हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो निर्णयलाई सरोकारवालाले अव्यवहारिक भनेका छन्।

दुर्घटना न्यूनीकरण गर्न भन्दै प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउन्टेन, सिलिङ (सामान झुन्ड्याएर गरिने लङलाइन उडान) र पुष्पवृष्टि उडानमा रोक लगाउने निर्णय गरेको छ। मनसुन प्रतिकूल रहेका बेला उडान गर्दा जोखिम आउन सक्ने भएकाले रोक लगाइएको प्राधिकरणको दाबी छ। क्यानमाथि आफ्नो कमजोरी लुकाउन उडानमा रोक लगाएको आरोप छ।

दुर्घटनाको कारण देखाउँदै हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाउनु नियमनकारी निकायको हतास मानसिकता भएको क्यानका एक पूर्वमहानिर्देशकले बताए। ‘अपरेसनमा ध्यान दिनुपर्ने कुरालाई कार्यान्वयनमा ल्याउने कुरा उचित हो,’ ती महानिर्देशकले भने, ‘उडानमै रोक लगाउने निर्णय अव्यवहारिक छ।’ पहाडी इलाका भएका अन्य मुलुकमा पनि यस्तो अभ्यास नभएको उनले बताए। ‘हेलिकोप्टर कम्पनीले एभिएसन र आइकाउको नियम पालना गर्नुपर्छ,’ ती महानिर्देशकले भने, ‘नियमनकारी निकायले हतासमा निर्देशन दिने निर्णय गलत छ।’ क्यानले सुरक्षा मापदण्ड कार्यान्वयनमा ल्याउने, अनुगमन गर्ने काम गर्नुपर्ने उनले बताए।

दुर्घटनाको कारण देखाउँदै पर्वतीय उडानमा रोक लगाउनु वैज्ञानिक र व्यावहारिक नभएको फिस्टेल एयरका अध्यक्ष एवं क्याप्टेन विकास राणाले बताए। ‘सिभिल एभिएसनको नियम मान्न हेलिकोप्टर सञ्चालक तयार छौं,’ थापाले भने, ‘दुर्घटना न्यूनीकरणमा ध्यान दिनुपर्नेमा उडानमै रोक लगाउने निर्णय अव्यवहारिक छ।’ दुर्घटना छानबिन गरेर कारण पत्ता लगाउनुपर्नेमा उडानमै रोक लगाउने निर्णय गलत भएको उनले बताए। यो समाचार नागरिक दैनिकमा छ ।

सम्बन्धित समाचार