काँकडभिट्टा–लौकही सडक पौने ३२ अर्बको ठेक्का लागेकोमा मर्मतको नाममा सवा करोड खर्चंदै
पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टा–लौकही (सुनसरी) खण्ड एसियाली विकास बैंकको ऋण सहयोगमा चार लेन विस्तार गर्न विभिन्न प्याकेजमा ३१ अर्ब ७० करोडको ठेक्का आह्वान भइसकेको छ । काँकडभिट्टा–लौकही सडक आयोजना प्रमुख चुडा ढकालका अनुसार एक सय २० किलोमिटरमध्ये ९५ किलोमिटर सडक विस्तारको काम मंसिरदेखि सुरु हुनेछ ।
तर, सडक डिभिजन कार्यालय दमकले सडक बोर्डको मर्मत बजेटअन्तर्गत आर्थिक वर्षको अन्त्यतिर यही खण्डको काँकडभिट्टादेखि झापा र मोरङको सिमाना रहेको मावा नदीसम्म मर्मत–विस्तार गर्न एक करोड २२ लाख बजेट सक्दै छ ।
चैतमा ठेक्का पाएको सयपत्री इन्जिनियरिङ एन्ड कन्सल्टेन्टले असोजभित्र सडक मर्मतसँगै झिलझिले, चारपाने, रामचोक, दुर्गापुर, बिर्तामोडमा सडक फराकिलो बनाउने सडक डिभिजन कार्यालय दमक इन्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए ।
राजमार्ग विस्तारका लागि केही महिनामै डिभिजनको खर्चमा मर्मत–विस्तार भएको सडक फेरि भत्काउनुपर्ने काँकडभिट्टा–लौकही आयोजना प्रमुख ढकालले बताए । ‘हामी सम्भवतः मंसिरदेखि सडक विस्तारको काम सुरु गर्छौँ ।
यसरी सडक डिभिजनले सडक फराकिलो गर्ने काम त नगर्नुपर्ने हो । चौडा गर्दा त फराकिलो गरेको सडक भत्कन्छ,’ उनले भने, ‘अहिले खर्च गरेर भोलि भत्काइहाल्ने काममा नलाग्नु नै राम्रो हुन्छ । त्यहाँको परिस्थिति बुझेर मात्र थप भन्न सक्छु ।’ सडक डिभिजनले भने सडक मर्मतको काम मात्र गरिएको जनाएको छ । केही ठाउँमा सडक विस्तार भइरहेको भए पनि सडक डिभिजन कार्यालय दमकका प्रमुख पौडेलले भने मर्मतको काम मात्र भइरहेको जिकिर गरे । उनले बजार क्षेत्रमा सस्तो प्रविधिबाट सडक मर्मत गरेको बताए ।
‘बजार क्षेत्रमा धुलो, हिलो हुने अवस्था भइरह्यो भनेर हामीले सस्तो प्रविधिको मर्मत गर्ने काम गरिरहेको हो । सडक चौडा गर्ने काम भएको छैन । गाडी रोक्ने ठाउँ, जहाँ असाध्यै बिग्रिएको छ, त्यहाँ कालोपत्रेले मर्मत गर्न मात्र लागिएको हो,’ उनले भने, ‘एडिबीको ठेक्का लागिसकेको छैन, ठेक्का लाग्न अझै केही समय लाग्छ ।
अनि ठेक्का लाग्नेबित्तिकै कन्ट्र्याक्टरले सडक मर्मत गर्दैन । रूख काट्छ, पोलहरू हटाउँछ, कल्भर्ट र पुल बनाएर मात्र अन्तिममा कालोपत्रे गर्छ । अहिले मर्मत नगरे त्यसवेलासम्म सडक बिग्रिएर यात्रुले सास्ती भोग्नुपर्छ ।’ उनले अहिले नगरी नहुने ठाउँमा मात्र मर्मतको काम गरिएको दाबी गरे । यो राजमार्गमा सधैँ मर्मतको काम भएको पौडेलले बताए । यो खबर झापाबाट चिरञ्जीवी घिमिरेले नयाँ पत्रिकामा लेखेका छन् ।