२०८३ बैशाख २४ गते , विहीबार

पहिलोपटक मत विभाजनबाट बजेट पारित, पक्षमा १ सय ४७ र विपक्षमा १ सय ८ मत

sajilo news
पत्रपत्रिका
२०८० असार १४ गते , विहीबार
पहिलोपटक मत विभाजनबाट बजेट पारित, पक्षमा १ सय ४७ र विपक्षमा १ सय ८ मत

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/२०८१ का लागि सरकारले प्रस्तुत गरेको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बुधवार प्रतिनिधिसभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो । नेपालको इतिहासमा विनियोजन विधेयक पारित गर्न सदनमा मतदान भएको यो पहिलो पटक हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते १७ खर्ब, ५१ अर्ब, ३१ करोड रुपियाँको बजेट संसद्मा प्रस्तुत गरेका थिए । बजेट अधिवेशनको करिब एक महिनासम्म व्यापक छलफलपछि आवश्यक सुझाव लिएर बजेट पारित गरिएको अर्थमन्त्रालय स्रोतको दाबी छ । बजेटका सन्दर्भमा सदनमा भएको एक महिने छलफलमा प्रतिपक्षसहित सत्तापक्षका सांसदहरूले समेत बजेट सच्याउन दबाब दिए पनि सच्याउने वा पुनर्लेखन गर्ने परम्परा नभको भन्दै हुबहु पारित गरिएको हो ।

आठ दलीय गठबन्धनको सरकारले ल्याएको बजेट पारित हुन नदिने प्रतिपक्षी दलहरूको दबाबका बाबजुद बुधवार करतल ध्वनिले बजेट पारित भए पनि प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सभामुखमाथि मत विभाजनको दबाब बढाएपछि सभामुख देवराज घिमिरेले पुनः मत विभाजनको प्रक्रियामा लैजानुभएको अर्थमन्त्रीका प्रेस संयोजक प्रकाश थापाले नेपाल समाचारपत्रलाई बताउनुभयो । बजेट बनाउँदै सच्याउँदै गर्दा गलत नजीर बस्ने र बजेटमा मनोमानी बढ्ने भएकाले अर्थमन्त्रीबाट संसद्मा एकपटक पेस भएको बजेट पटकपटक परिमार्जनको कुरा अस्वीकार गरिएको थापाले जानकारी दिए ।
सांसद उपस्थित सांसदमध्ये विनियोजन विधेयकका पक्षमा १ सय ४७ मत र विपक्षमा १ सय ८ मत परेको संसद् सचिवालयले जनाएको छ । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादीले बजेटको पक्षमा मतदान गरेका छन् भने एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, लोसपाले भने विपक्षमा मतदान गरेका थिए । छलफलमा विरोध गर्ने सांसदहरूले विपक्षमा मतदान गर्न सक्ने देखेर प्रमुख प्रतिपक्षी दल एमालेले मतविभाजनको माग गरे पनि अन्ततः सत्तापक्षका सबै सांसदहरूले विनियोजन विधेयकका पक्षमा मतदान गरेका थिए । आजको समाचारपत्रमा यो खबर छ ।

सम्बन्धित समाचार