शिवसताक्षी नगरपालिकाको नगर सभा स्थगित
झापा । पाँच वडा अध्यक्ष सहित ८ जना नगर सभा सदस्यको फरक मतका कारण झापाको शिवसताक्षी नगरपालिकाको १२ औ नगर सभा स्थगित भएको छ । आगामी असार १३ गते दिउँसो १ बजे पुन बस्ने गरी नगर सभा स्थगित भएको नगरका प्रवक्ता बहादुर आङवोले बताए ।
नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष भास्कर न्यौपाने, मनोज खुलाल, भवानी विक्रम चेम्जोङ, सन्तकुमार फेउदिन र डिल्ली फेम्बुले नगर सभामा नगर प्रमुख रोशन थोप्राले ल्याएको बजेटमा फरक मत राखेका थिए । उनीहरूले साबिकको वडा सिलिङ बजेट घटाएर ४० लाखमा झार्नु न्यायोचित नभएको तर्क गरेका थिए ।
चालु आर्थिक वर्षको वडा सिलिङ बजेट ७५ लाख थियो । आगामी आवका लागि नगरले वडामा जाने बजेट घटाएर ४० लाखमा झारेको वडा अध्यक्षले गुनासो गरेका छन् । नगरले थप २० लाख पनि एक मुष्ठ योजनाका लागि वडामा छुट्ट्याएको छ । तर वडा अध्यक्षहरूले त्यो २० लाखलाई पनि एक मुष्ठ वडा बजेटका रुपमा जोड्दै चालु आवको बजेट साबिकको बजेटमा घटाउन नहुने अड्डी गर्दै आएका छन् । वडा मजबुत भयो भने मात्र नगर पनि मजबुत हुने उनीहरूले बताए ।
वडा अध्यक्षले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट उत्पादन र परिणाम मुखी नभएकाले संशोधन गर्नुपर्ने माग गर्दे आएका छन् । वडा र नगरले सञ्चालन गरेका ठुला योजनाहरूको निर्माण सम्पन्न गर्न बजेटको सुनिश्चितता गर्नुपर्ने, उत्पादनमुखी योजना र कार्यक्रमलाई प्राथमिकतामा राखिनुपर्ने उनीहरूले जोड दिए ।
वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले नगर प्रमुखले हचुवा, मनलाग्दी र अनुत्पादक योजनाका लागि बजेट छुट्टाएको आरोप लगाए । यो बजेट कर्मकाण्डीको रुपमा मात्र आएको उनले बताए ।
नगर सभामा फरक मत राख्ने साथीहरूको भावनालाई सम्मान गर्दे १३ गते दिउँसो १ बजेका लागि पुन नगर सभा डाकिएको प्रवक्ता आङ्गवोले बताए । उनले भने, ‘आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट र बन्न लागेका ऐन नियमावलीहरूको हेरफेर हुन सक्ने आधारकै कारण तत्काललाई नगर सभा स्थगित गरिएको बताए । नगरमा ६० नगर सभा सदस्य छ । ती मध्ये नेपाली काँग्रेसबाट १३ जना र माओवादीबाट १जना वडा अध्यक्ष नगर सभा सदस्य छन् । बाँकी ४६ नेकपा एमालेबाट निर्वाचित नगर सभा सदस्य छन् ।