कनकाई नगरपालिकाको बजेट आकार ६ करोडले घट्यो
झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ६७ करोड, ८७ लाख २४ हजार १ सय ७५ रुपैयाँको बजेटसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
नगरपालिकामा आइतबार भएको १३ औ नगर सभाबाट नगरपालिकाकी उपप्रमुख आशा शर्मा सिवाकोटीले यस आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गरेकी थिइन् । आशा शर्मा सिवाकोटीले अघिल्लो आर्थिक वर्ष २०७९/८० को भन्दा ६ करोडले कम बजेट प्रस्तुत गरेकी थिइन् ।
अघिल्लो आर्थिक वर्षमा कनकाई नगरपालिकाले ७३ करोड, ८५ लाख रुपैयाँको बजेट ल्याएको थियो । यस आर्थिक वर्षमा बजेट घटेसँगै कनकाईको ३ नम्बर वार्ड बाहेक सबै वार्डको बजेट सिलिङ समेत घटेर आएको छ । अघिल्लो आर्थिक वर्षमा वार्ड नम्बर ३ मा १ करोड १७ लाख २२ हजार ७०० रुपैयाँ छुट्टिएकोमा यस आर्थिक वर्षमा १ करोड २६ लाख ३२ हजार ९७ रुपैयाँ बजेट विनियोजन गरिएको छ । बाकी ८ वटै वार्डमा घटेर बजेट गएको छ ।