बिर्तामोड नगरपालिकाको बजेट १ अर्ब ४० करोड ९५ लाख
बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको ल्याएको छ । नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो नगर अधिवेशन अन्तर्गतको प्रथम बैठकमा नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले बजेट प्रस्तुत गरेका छन् । उक्त बजेट मध्ये आय तर्फ सङ्घीय समानीकरण अनुदानबाट २० करोड ३६ लाख, सङ्घीय सरकार राजश्व बाँडफाँडबाट १३ करोड १६ लाख ९२ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३४ लाख ४ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड १९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
यसै गरी नगरपालिकाको आन्तरिक आय र मालपोत रजिस्ट्रेसन शुल्क समेतबाट गरी जम्मा ३२ करोड, सङ्घीय सशर्त अनुदान चालु तर्फ २९ करोड ६ लाख तथा पुँजीगत तर्फ ३६ करोड ७६ लाख, सङ्घीय विशेष अनुदान २ करोड र समपूरक अनुदान ६५ लाख तथा प्रदेश सशर्त अनुदान ६२ लाख २५ हजार, समपूरक अनुदान १ करोड २९ लाख ५१ हजार रुपैयाँ बजेटप्राप्त हुने नगर उपप्रमुख सङ्ग्रौलाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष ०७९/०८० को लागि कुल १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० रुपैयाँ (सामाजिक सुरक्षाको बजेट समेत)को बजेट ल्याएको थियो । बजेट संघ तथा प्रदेशबाट प्राप्त हुने सशर्त बजेट, समपूरक अनुदान र विशेष अनुदानका योजना तथा कार्यक्रमहरू र सशर्तमा तोकिएका योजना तथा कार्यक्रममा खर्च हुने जनाइएको छ।
नगरपालिकाले कृषि क्षेत्रमा १ करोड, पशुपक्षी तथा मत्स्य विकासमा ७५ लाख , शिक्षा क्षेत्रमा २ करोड ५० लाख, स्वास्थ्य क्षेत्र नगर अस्पताल तथा विपन्न नागरिकहरूको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन समेतमा ३ करोड २० लाख, मर्मत सम्भार कोष र सडक सुधारमा २ करोड, महिला, बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिक, दलित, मधेसी, जनजाति, आदिवासी समेतलाई लक्षित कार्यक्रममा १ करोड, लघु उद्यम विकास, सहकारी युवा तथा खेलकुद कार्यक्रममा ७० लाख, फोहोर मैला व्यवस्थापन तथा विपद् व्यवस्थापनमा २ करोड ५० लाख, देविहाट बुधबारे बजारमा बहुतले व्यावसायिक भवन निर्माण, नगरको प्रशासनिक भवन निर्माण तथा अन्य पूर्वाधार निर्माणमा साझेदारी गर्न समपूरक कोषमा ५ करोड ५० लाख, लोक कल्याणकारी सूचना सन्देश विज्ञापन र सचेतनामूलक कार्यक्रमहरूमा ५० लाख, नगर स्तरीय नगर गौरव योजना, वडा स्तरीय योजना तथा बहु वर्षे क्रमगत योजना समेतमा २२ करोड रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाले व्यवसायीहरूलाई व्यवसाय करको दायरा भित्र ल्याउन एक पटकको लागि आन्तरिक राजश्व कार्यालयमा दर्ता भई बिर्तामोड नगरपालिकामा व्यवसाय दर्ता नभएका र दर्ता भई नवीकरण हुन बाँकी रहेका उद्योग/फर्म/कम्पनीलाई ३ वर्ष वा सो भन्दा माथिको बक्यौता कर तिर्नुपर्ने रहेछ भने ३ वर्ष सम्मको हकमा १ वर्षको कर र ३ वर्ष माथिको बक्यौता हुनेको हकमा २ वर्षको कर लिई आ.ब. २०८०/८१ को श्रावण देखि कार्तिक महिना सम्मका लागि एक पटक दर्ताका लागि समय उपलब्ध गराउने जनाएको छ । उक्त अवधिमा समेत दर्तामा नआउने फर्म/कम्पनीलाई बुझाउनु पर्ने सम्पूर्ण करको अतिरिक्त शतप्रतिशत जरिवाना गरी असुलउपर गरिने नगरपालिकाले बजेटमा उल्लेख गरेको छ ।